सूचनाको शक्ति - The Power Of Information

        

बालेन र भीम रावलबीच सहकार्य कति सम्भव ?

‘मातृभूमि जागरण अभियान नेपाल’ चलाउन खोजिरहेका भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पनि यसमा जोड्ने प्रयास गर्ने बताएका छन् । शुक्रबार धनगढी पुगेर उनले आफ्नो अभियानमा बालेनलाई समेत जोड्ने प्रयास गर्ने सुनाएका हुन् । नेकपा (एमाले)बाट निकालिएपछि रावल आफ्नो अभियान विस्तार गर्न देश दौडाहामा छन् ।

‘सशक्त वैकल्पिक शक्ति’ निर्माण गर्ने जिकिर गर्दै उनले धनगढी विमानस्थलमा पत्रकारसँग भने, ‘नेपालमा विभिन्न समूह छन् । नागरिक संगठन, राजनीति दलसँग आबद्ध बुद्धिजीवी छन् । अहिलेको देशको अवस्थालाई ध्यानमा राखेर हामीले एउटा सशक्त वैकल्पिक शक्ति निर्माण गर्नका लागि के–के गर्नुपर्छ, छलफलबाट त्यसको निष्कर्ष निकालेर जाने हो ।’ आफ्नो अभियानका तर्फबाट वैकल्पिक शक्ति निर्माणका निम्ति रूपरेखा सार्वजनिक गरेको र त्यसमा अझै छलफल गरिने उनले बताए ।

काठमाडौं महानगरका मेयर बालेनसँग पनि सहकार्य गर्न सकिने सम्भावना रहेको सुनाउँदै उनले भने, ‘सशक्त वैकल्पिक शक्ति निर्माणका लागि रूपरेखा तयार गरेका छौँ । देशको हित चाहने जो कोहीलाई हामी समेट्छौँ । राजनीतिक दलको नाममा जताततै भागबन्डा गरेर खाने, यस्तो कुरालाई रोक्नुपर्छ भन्ने बालेनजी लगायत सबैलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाए राम्रो हुन्थ्यो भन्ने सबैको आवाज छ ।’

रावलसँग मिल्लान् बालेन ?

मेयर बालेन शाह भने तत्काल कसैसँग सहकार्य गर्ने वा मिल्ने पक्षमा छैनन् । बालेन निकटस्थ भन्छन्, ‘हामीसँग जोडिनुपर्यो, सहकार्य गर्नुपर्यो भनेर दैनिक फोन आउँछ, मान्छेहरू भेट्न आउँछन । तर, अहिलेलाई त्यस्तो कुनै योजना छैन ।’ बालेन टिमका अनुसार, रावलले सहकार्य गर्न सकिने बताए पनि मेयर बालेन कसैसँग मिलिहाल्ने सोचमा छैनन् ।

‘अहिले उहाँ (बालेन) मेयर हुनुहुन्छ । उहाँले स्वतन्त्र भएर चुनाव जित्नुभएको हो । त्यसैले अहिले नै कुनै दल वा अभियानसँग जोडिने भन्ने सोच विचार छैन,’ बालेन टिमका एक सदस्यले भने । पछिल्लो समय एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेन असन्तुष्ट छन् ।

एमालेबाट निकालिएपछि रावल पनि असन्तुष्ट छन् । त्यही असन्तुष्टिलाई रावलले ‘क्यास’ गर्न खाजेको हुन सक्ने बालेन टिमको बुझाइ छ । ‘यहाँ जसले जे गरे पनि बालेनको नाम लिन्छन्,’ बालेन टिमका ती सदस्य भन्छन्, ‘बालेनको नाम बिक्री हुन्छ र बेच्छन् ।’

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार १४:४९

लोकप्रिय