कञ्चनपुरको शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्याएर बेच्छन् । यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएका छन् । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ ।
तरकारी खेतीले घर खर्च चलाउन सहज भएकाले निरन्तर रूपमा अपनाउँदै आएको उनी बताउँछन् । चौधरी तरकारी खेतीमा जस्तै जनताको सुखदुःखमा साथ दिने वडाध्यक्षका रूपमा परिचित छन् । त्यही भएर उनी दोस्रो कार्यकालका लागि वडाध्यक्षमा जनताले चुनेका हुन् । बिदाका दिन वडाको काम नपरे उनी दिनभर तरकारीका बिरूवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने कार्यमा बिताउछन् ।
वर्षमा वडाध्यक्षले रू पाँच लाखजत्तिको तरकारी बिक्री गरी आम्दानी गर्दै आएका छन् । दश कठ्ठा जग्गामा उनले तरकारी खेती गरेका छन् । काउली, गोलभेँडा, धनिया, रायो, खुर्सानी, मुला, घ्यूसिमी, भान्टा, आलु लगायत तरकारी तथा हरियो साग चौधरीको बारीमा लटरम्म फलेका छन् । ‘काउली मात्र बेचेर रू ५० हजार जतिको आम्दानी भएको छ,’ अध्यक्ष चौधरीले भने, ‘पहिलो पटक लगाएको काउली बेचिसक्यौँ, दोस्रोपटक लगाएको काउली आउँदो महिना बेच्न ठिक हुन्छ ।’
काउलीबाहेकको अन्य तरकारी रू २० हजार जतिको बेचेको उनी बताउँछन् । ‘बारीमा प्याजका बेर्ना रोप्न तयार भएका छन्,’ अध्यक्षका श्रीमती सावित्री चौधरीले भने, ‘आलु खन्ने अवस्थामा छन्, आलु खनेर प्याज रोप्छौँ ।’ यसअघि चौधरी दम्पतीले लौका, काँक्रा, तितेकरेला, फर्सी लगायतको खेती गरी रू एक लाख आम्दानी हात पार्न सफल भएका थिए । तरकारी खेतीको कमाइले परिवारको खर्चसँगै छोराको पढाई खर्च व्यहोर्दै आएका छन् ।
सत्यपाटी