२०८३ मंसिर ३ , बिहीबार 19, November 2026, Thursday

नारायणकाजीको चेतावनी, ‘सरकार नसच्चिए, अर्को कदम चाल्छौं’

माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारले राणा शासनको अन्त्यपछि बनेका सरकारहरूमध्ये उत्कृष्ट रहेको दाबी गरेका छन् । शनिवार काठमाडौँमा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले माओवादी केन्द्र नेतृत्वको सरकारले सुशासन र समृद्धिलाई तीव्रता दिएको पनि दाबी गरे ।

उनले भने, ‘हामी दाबीका साथ भन्न सक्छौँ, राणा शासनको अन्त्य पछि २००७ सालदेखि कुनै सरकारले नगरेको काम हाम्रो नेतृत्वको सरकारले गर्यो । भ्रष्टाचारीहरूलाई कानुन र कारबाहीको दायरामा ल्यायो ।’ प्रधानमन्त्री बनेका बेला प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायलाई अघि बढाएको बताउँदै भ्रष्टाचारविरुद्ध, राज्यलाई लुट्नेहरू, ठगीका विरुद्ध ठुलो अभियान सुरु गरेको पनि उनले दाबी गरे ।

श्रेष्ठले भ्रष्टाचारीहरूलाई जोगाउन, भ्रष्टाचार गर्नका लागि माओवादी नेतृत्वको सरकार ढालेर अहिलेको सरकार बनेको बताए । श्रेष्ठले भ्रष्टाचारी, ठग र राज्य लुट्नेहरुले निद हराम भएपछि प्रचण्ड नेतृत्वको सरकार ढालेको दाबी गरे । सुशासन र भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा देशमा नयाँ आशा र ऊर्जा भएपछि, सह्य नभएपछि सरकार ढालेको उनले जिकिर गरे ।

उनले भने, ‘उहाँहरूले हामीलाई शिक्षा दिने, जसले गएको सरकारले ललिता निवास काण्डमा कीर्ते मुद्दामा अदालतमा छ, अख्तियारले दायर गरेको मुद्दामा कैद र जरिवानाको मुद्दा सर्वोच्च अदालतमा छ । एउटा अदालतले दोषी ठहर गरेर अर्को अहिले सर्वोच्चमा विचाराधीन मुद्दा भएको व्यक्तिलाई सफाइ दिन मिल्छ कि मिल्दैन ? यस्तो सह्य हुन सक्दैन ।’ सरकारले भ्रष्टाचारविरोधी अभियान रोक्ने प्रयास गरिरहेको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकार सच्चिएर नआए माओवादीले खबरदारीसभामै सीमित नभएर अर्को कदम चाल्नसक्ने चेतावनी पनि दिए ।

प्रकाशित मिति : २०८१ कात्तिक १० गते शनिबार