२०८२ पुस ३० , बुधबार 14, January 2026, Wednesday
सहकारी ठगी प्रकरण

रविलाई भोलि अदालतमा उपस्थित गराइने, रास्वपा शीर्ष नेताहरू पोखरामा

अदालतको अनुमतिमा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिँदासमेत लामिछानेले आफ्नो पक्षमा भीड देखाएर अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेका छन् ।
सत्यपाटीसत्यपाटी । गण्डकी । २०८१ कात्तिक ३ गते शनिबार

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा ल्याइएको हो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछानेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ । लामिछानेलाई पोखरा पुर्याइएसँगै रास्वपाका प्रभावशाली नेताहरू पनि पोखरा नै केन्द्रित भएका छन् । दुई उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, तोशीमा कार्कीलगायतका नेताहरू पनि पोखरा पुगेका छन् ।

रास्वपा कार्यकर्ताहरूले आज बिहान ११ बजे मानवअधिकार चोक, पोखरामा विरोध प्रदर्शन गर्ने भएका छन् । त्यसो त लामिछानेलाई नियन्त्रणमा लिनेबित्तिकै रास्वपा केन्द्रीय कार्यालय परिसरमा नेता कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरूले लामिछाने निर्दोष रहेकोमात्रै होइन, उनलाई प्रतिसोधका आधारमा पक्राउ गरिएको र सहकारी ठगीका असली अपराधीहरू भने सत्तारुढ दलले संरक्षण गरेर राखेको भन्दै आरोप लगाएका थिए ।

सडकमार्ग भएर पोखरा जान चाहेका लामिछानेको पक्षमा रास्वपाले धादिङ, चितवन, तनहुँ हुँदै पोखरासम्म नै सडकमा समर्थकको भीड उतारेको थियो । रास्वपाका उपसभापति अर्यालसहित दर्जनौँ नेताहरू लामिछानेलाई पछ्याउँदै राति नै पोखरा पुगेका हुन् । लामिछानेलाई प्रहरीले गाडीमा राखेर लैजाँदै गर्दा ठाउँठाउँमा रास्वपाका नेता कार्यकर्ताहरूले बाटो छेकेर नाराबाजी र विरोध प्रदर्शन गरेका थिए भने कतिपय ठाउँमा बाक्लो प्रहरी परिचालन गर्नुपर्ने स्थिति बनेको थियो ।

लामिछानेलाई काठमाडौँबाट हिडाएलगत्तै मुग्लिनमा जम्मा भएका उनका समर्थकहरूले नाराबाजी र प्रदर्शन गरेका थिए । लामिछानेलाई प्रहरीले मुग्लिन पुर्याउँदा उनीहरूले प्रहरीको गाडी रोकेर लामिछानेसँग संवाद गर्ने भन्दै धकेलाधकेल समेत गरेका थिए । मुग्लिनमा जम्मा भएका नेता कार्यकर्ताहरू पोखरासम्मै पुगेका छन् । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

आफू सहकारी प्रकरणमा निर्दोष रहेको दाबी गरेका लामिछानेले भने आफूमाथि अनुसन्धानका लागि पक्राउ पूर्जी जारी हुँदासमेत आफ्ना समर्थकहरूलाई भड्काउने र अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेका छन् । उनी काठमाडौँमा पक्राउ पर्ने बित्तिकै रास्वपाले काठमाडौँसहित सडक मार्ग रहेको क्षेत्र र पोखरामा समेत आफ्ना कार्यकर्ताहरूलाई सडकमा उत्रिन आन्तरिक सर्कुलर गरेको थियो ।

प्रकाशित मिति : २०८१ कात्तिक ३ गते शनिबार