सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले शुक्रबार साँझ काठमाडौँबाट नियन्त्रणमा लिएर पोखरा पुर्याएको छ । प्रहरीले लामिछानेका समर्थकहरूको नाराबाजी र विरोध प्रदर्शनका बीच लामिछानेकै चाहना बमोजिम सडक मार्ग भएर रातारात पोखरा पुर्याएको हो ।
लामिछानेलाई प्रहरीले लैजाँदै गर्दा ठाउँठाउँमा उनका समर्थक र रास्वपाका नेता कार्यकर्ताहरूले नाराबाजी र विरोध प्रदर्शन गरेका थिए । राति करिब ३ बजे लामिछानेलाई पोखरा पुर्याएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । लामिछानेलाई प्रहरीले हिरासतमा लिएपछि समेत रास्वपाका कार्यकर्ताहरूले नाराबाजी गरेका छन् ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
आफू सहकारी प्रकरणमा निर्दोष रहेको दाबी गरेका लामिछानेले भने आफूमाथि अनुसन्धानका लागि पक्राउ पूर्जी जारी हुँदासमेत आफ्ना समर्थकहरूलाई भड्काउने र अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेका छन् । उनी काठमाडौँमा पक्राउ पर्ने बित्तिकै रास्वपाले काठमाडौँसहित सडक मार्ग रहेको क्षेत्र र पोखरामा समेत आफ्ना कार्यकर्ताहरूलाई सडकमा उत्रिन आन्तरिक सर्कुलर गरेको थियो ।
रास्वपाका नेताहरूका अनुसार शनिबारदेखि थप प्रदर्शनका कार्यक्रमहरू बनाइएको रास्वपाका सांसद शिव नेपालीले जानकारी दिए । शनिबार राति लामिछानेको पक्षमा नाराबाजी गर्दै सयौँको संख्यामा नेता कार्यकर्ताहरू पोखरा पुगिसकेका छन् । यता लामिछाने पक्राउ परेपछि शुक्रबार रातभर उनका समर्थकहरूले नाराबाजी गरेका छन् । रविका समर्थकहरूले उनलाई पक्राउ गरेको आक्रोसमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।
प्रहरीले शुक्रबार साँझ पौने ७ बजे लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई नियन्त्रणमा लिनेबित्तिकै रास्वपा केन्द्रीय कार्यालय परिसरमा नेता कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरूले लामिछाने निर्दोष रहेकोमात्रै होइन, उनलाई प्रतिसोधका आधारमा पक्राउ गरिएको र सहकारी ठगीका असली अपराधीहरू भने सत्तारुढ दलले संरक्षण गरेर राखेको भन्दै आरोप लगाएका थिए ।
सडक मार्ग भएर पोखरा जान चाहेका लामिछानेको पक्षमा रास्वपाले धादिङ, चितवन, तनहुँ हुँदै पोखरासम्म नै सडकमा समर्थकको भीड उतारेको थियो । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालसहित दर्जनौँ नेताहरू लामिछानेलाई पछ्याउँदै राति नै पोखरा पुगेका छन् । लामिछानेलाई प्रहरीले गाडीमा राखेर लैजाँदै गर्दा ठाउँठाउँमा रास्वपाका नेता कार्यकर्ताहरूले बाटो छेकेर नाराबाजी र विरोध प्रदर्शन गरेका थिए भने कतिपय ठाउँमा बाक्लो प्रहरी परिचालन गर्नुपर्ने स्थिति बनेको थियो ।
चितवन–२ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेको पक्षमा मुग्लिनमा ठूलो भीड देखियो । त्यहाँ निर्वाचन क्षेत्रबाट समेत ठूलो संख्यामा मान्छेहरूको आवतजावत हुने देखिएपछि प्रहरीले लामिछानेलाई मुग्लिन कटाउञ्जेल नारायणगढ–मुग्लिन सडक नै बन्द गराएको थियो । लामिछानेलाई काठमाडौँबाट हिँडाएलगत्तैदेखि मुग्लिनमा जम्मा भएका उनका समर्थकहरूले लामिछाने त्यहाँ पुगुञ्जेलसम्म नाराबाजी र प्रदर्शन गरेका थिए । लामिछानेलाई प्रहरीले मुग्लिन पुर्याउँदा उनीहरूले प्रहरीको गाडी रोकेर लामिछानेसँग संवाद गर्ने भन्दै धकेलाधकेल समेत गरेका थिए ।
मुग्लिनमा जम्मा भएका नेता कार्यकर्ताहरू पोखरासम्मै पुगेका छन् । लामिछानेलाई राति ३ बजे प्रहरीले पोखरा पुर्याएर हिरासतमा लिएपछि समेत समर्थकहरूले प्रहरी कार्यालयबाहिर नाराबाजी गर्दै सरकारको विरोध गरेका छन् । उनीहरूले ‘असली सहकारी ठगहरूलाई कारबाही गर, भ्रष्ट सरकार चाहिँदैन, रवि लामिछानेलाई रिहा गर, नडराउनु रवि दाइ जनता तिम्रो साथमा छ भन्दै नाराबाजी गरेका थिए । अदालतको अनुमतिमा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिँदासमेत लामिछानेले आफ्नो पक्षमा भीड देखाएर अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेका छन् ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं