२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday
सम्पादकीय

विजयादशमीको शुभकामना !

वि.सं.२०८१ को विजयादशमीका अवसरमा सत्यपाटी परिवारका तर्फबाट आफ्ना शुभचिन्तक, पाठक, विज्ञापनदाता, सहकर्मीहरू लगायत समस्त नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

यो शरदको मौसम नै उसै उत्सवमय छ । मनसुनी वर्षा सकिएको छ, दिनहरू रमाइला र घमाइला बनेका छन् । न जाडो छ न गर्मी, घाम र शीतल दुवै प्यारो लाग्ने यो याममा प्रकृतिको वातावरण नै आनन्ददायक छ । त्यसमाथि थरीथरी फूलहरू फुल्दै छन्, फलहरूमा दाना भरिँदै छन्, खेतका फाँटहरूमा धानका बालाहरू झुल्दै छन् । देशकै प्रमुख पर्वहरू यही याममा पर्नु हाम्रो प्रकृति, पर्यावरण, खेतीपाती र संस्कृतिको सुखद संयोग हो ।

यो खुसीको मौसममा यति बेला हामी बडादसैं मनाइरहेका छौं । मित्रता, भाइचारा, पुनर्मिलन र आपसी सम्मान–प्रेमको यस पर्वमा हामी बृहत् पारिवारिक हर्षोल्लासमा मग्न छौं । शताब्दीयौं पुरानो यो चाडको धार्मिक र ऐतिहासिक पक्ष आफ्नो ठाउँमा छ, यससँग जोडिएका किंवदन्तीहरूका पनि आफ्नै अर्थ छन्, तर ती सबैबाट माथि उठेर विजयादशमी बहुसंख्यक नेपालीको लोकचाड बनेको छ । विजयादशमी लगभग सबै नेपालीले मनाउने एकमात्र चाड हो ।

विजयादशमी हिन्दुहरूको पर्व मात्रै नभएर यसले सांस्कृतिक अवतार लिइसकेको छ । नवदुर्गाको पूजा गर्ने वा नगर्ने, बलि दिने वा नदिने, रातो वा सेतो अक्षताको टीका लगाउने वा नलगाउने सबैले विजयादशमी मनाउँछन् । यसैले त विजयादशमीलाई नेपालीको साझा पर्व भनिएको हो । परिवारका सदस्य, नातागोता तथा आफन्तबीच आत्मीयता साटासाट गर्ने, ठूलाबडाबाट टीका र जमरा थापेर आशिष लिने हाम्रो संस्कृति आफैंमा अनुपम छ, अन्यत्रका हिन्दुहरूले यसै अवधिमा मनाउने पर्वभन्दा फरक छ ।

यिनै मौलिकपन र सांस्कृतिक तथा सामाजिक विशेषताहरूकै कारण दसैं देशकै ठूलो सांस्कृतिक पर्वका रूपमा स्थापित भएको हो, जहाँ सबै नेपालीहरू आफ्नो संकट भुलेर, आपसी वैमनस्य बिर्सेर रमाउने गर्छन् । विजयादशमी नमनाउनेहरू पनि यस अवसरलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा मनाउँछन् । परिवार छाडेका परदेशी घर फर्खन विजयादशमी नै पर्खन्छन् भने यही बेला आफन्तहरू परदेशीका बाटो हेरेर बस्छन् । मीठो खाने र राम्रो लगाउने रहर मेट्न विजयादशमी पर्खने चलन पनि अझै हराएको छैन ।

अहिले त बिरानो थलोमा जन्मेहुर्केका कतिपय केटाकेटीका विजयादशमी पुर्ख्यौली थलोमा फर्केर आफ्नो जरा चिन्ने र माटोसँग माया गास्ने मौका पनि बनेको छ । रोजीरोटीका निम्ति सहर पसेका र बिदेसिएकाहरू दसैंका अवसरमा घर फर्किन्छन् । मुलुकमा लामो सार्वजनिक बिदा पनि यही समयमा हुन्छ । अहिलेसम्म चाड मनाउन कति आफ्नो गन्तव्यमा पुगिसकेका छन्, कति पुग्ने क्रममा छन् । यसरी दसैं पारिवारिक पुनर्मिलनको खास पर्वका रूपमा रहेको छ ।

मीठो खाने, राम्रो लाउने र रमाइलो गर्ने चलन रहेकाले यसपर्वको आर्थिक महत्त्व पनि उत्तिकै छ । १५ दिनभरि मनाइने यस पर्वको आज मूख्य दिन अर्थात् मान्यजनबाट टीका लगाउने दिन हो । घटस्थापनाका दिन घरघरमा जमरा राखी दसैं सुरु हुन्छ । नवरात्रिभर शक्तिका प्रतीक विभिन्न देवीहरूको पूजा–आराधना गरिन्छ । दसौं दिन अर्थात् दशमीमा मान्यजनबाट टीका लगाइन्छ । देशका केही भागमा यो दिन मात्रै टीका लगाइन्छ भने कतिपय ठाउँमा यो क्रम दसैंको पन्ध्रौं दिन अर्थात् कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

यस वर्ष पोहोर परारभन्दा विजयादशमीमा घर फर्कनेहरूले बढी नै कष्ट र सास्ती भोग्नुपर्‍यो । हजारौं परिवारले त आफन्तजन, घरवार, श्रीसम्पत्ति गुमाएका छन् । उनीहरूलाई दुःख सहने शक्ति प्राप्त होस् । जेजस्तो अवस्था भए पनि, आफ्ना सबै दुःख भुलेर नेपालीहरू दसैं मनाउँछन्, आपसमा रमाउँछन्, रमाइरहेका छन् । हाम्रा आगामी हरेक दिन उत्सवमय भैरहुन् । वि.सं. २०८१ को विजयादशमीका अवसरमा सत्यपाटी परिवारका तर्फबाट आफ्ना शुभचिन्तक, पाठक, विज्ञापनदाता, सहकर्मीहरू लगायत समस्त नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रकाशित मिति : २०८१ असोज २६ गते शनिबार