२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

नवनियुक्त प्रधानन्यायाधीशले लिए राष्ट्रपतिबाट शपथ

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ असोज २० गते आइतबार

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।

राष्ट्रपति पौडेलले राउतलाई आज बिहान प्रधान न्यायाधीश पदमा नियुक्त गरेका थिए । राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश राउतलाई आइतबार नेपालको प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको थियो । समितिले गत बुधबार राउतको संसदीय सुनुवाइ गरेर सर्वसम्मत नाम अनुमोदन गरेको थियो । न्यायपरिषद्ले दिएको न्यायाधीशको सूचीका आधारमा रिक्त हुने पदका लागि संवैधानिक परिषद्ले ३१ भदौमा वरिष्ठताका आधारमा राउतको नाम सिफारिस गरेको थियो ।

राउतविरुद्ध आएका ६ वटा उजुरीमा गत मंगलबार उजुरीकर्तासँग छलफल गरेको समितिले गत बुधबार सुनुवाइ गरी अनुमोदन गरेको हो । पूर्वप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २० असोजमा उमेर हदका कारण अवकाश पाउने भएपछि राउत प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् । राउत २०८२ चैतसम्म प्रधानन्यायाधीश रहने छन् ।

प्रकाशित मिति : २०८१ असोज २० गते आइतबार