पश्चिम नेपालको रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा एमडी र एमएस पढाई हुने बाटो खुलेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालबिच शुक्रबार भएको सम्झौतासँगै पढाइका लागि बाटो खुलेको हो ।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.निराजन सुबेदीबीच काठमाडौँमा सम्झौता भएको हो । सम्झौता पश्चात् न्याम्सको आगामी साता बस्न लागेको सिनेट बैठकमा उक्त प्रस्ताव पेश हुने र सोही बैठकबाट पारित गर्ने तयारी छ ।
‘न्याम्स र भेरी अस्पतालबिच औपचारिक रुपमा सम्झौता भयो, यसले भेरीमा एमडी र एमएस पढाई हुने बाटो खुलेको छ,’ प्रमुख मेसु सुवेदीले भने ‘आगामी साता बस्न लागेको न्याम्सको सिनेट बैठकले पास गरेपछि कुन–कुन फ्याकेल्टीको पढाई सञ्चालन गर्ने भन्ने कुराको निश्चित हुनेछ,’ डा.सुवेदीले भने ।
एमडी र एमएस विषयको अध्ययन सुरु भएपछि भेरी अस्पतालको सेवा प्रवाह अझ राम्रो हुने प्रमुख मेसु सुवेदीले भने । ‘अस्पतालमा अब उपचार सेवासँगै शैक्षिक गतिविधि पनि बढ्ने भएकाले स्वभाविक रूपले यसको स्तर ह्वात्तै माथि उठ्छ,’ डा. सुवेदीले भने । भेरी अस्पतालमा वर्षौँअघि देखी एमडी र एमएस विषयको पढाई सञ्चालन गर्ने प्रयास भए पनि सार्थकता पाउन सकेको थिएन ।
उक्त विषयको पढाई सञ्चालन गर्न स्वीकृति दिएपछि न्याम्सले विभिन्न मापदण्ड निर्धारण गर्नेछ । भेरी अस्पतालमा मेडिसिन, सर्जरी, अर्थोपेडिक, गाइनोक्लोजिष्ट, पिडियाट्रिक, एनेस्थोलोजिष्ट, रेडियोलोजी, इएनटी र एमडिजिपीमा एमडी र एमएस विषयको पढाई सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।
पढाई सञ्चालनमा आएपछि भेरी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आङ्गिक अस्पतालका रुपमा रहनेछ । सङ्घीय सरकारको मातहतमा रहेको अस्पतालमा साबिक मध्य र सुदूरपश्चिम क्षेत्रका २४ जिल्लाका बिरामी उपचारका लागि आउँछन् । सम्झौताका क्रममा न्याम्सका शिक्षा अध्यक्ष प्रा.डा.लोचन कार्की, डिन डा.अशिष ढुंगाना, सहायक डिन डा.विकास विक्रम अधिकारी र डा.राजेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके