सूचनाको शक्ति - The Power Of Information

        

मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुन सकेको छैन ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन सकेको छैन । काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुनसकेको छैन । तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलो गरी खुल्ने गरेको उनले बताए । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । ‘तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना छ,’ मौसमविद् महर्जनले भनिन्, ‘बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ ।’ उनले पश्चिमी न्यून चापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको बताइन् ।

प्रकाशित मिति : २१ पुष २०८१, आइतवार ११:०२

लोकप्रिय