सूचनाको शक्ति - The Power Of Information

        

चारपांग्रे गाडी आयात घट्यो, दुईपांग्रेमा वृद्धि

चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ । चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्य पर्ने २३० वटा जिप, कार र भ्यान आयात भएको छ ।

आव २०८०–०८१ को सोही अवधिमा रु ४५ करोड ९० लाख ६१ हजार मूल्य पर्ने ३०६ वटा जिप, कार र भ्यान आयात भएको थियो । आव २०८०–८१ को भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा चार पाङ्ग्रे सवारी सङ्ख्याका आधारमा २४ दशमलव ८४ प्रतिशतले आयात घटेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको दुई महिना अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको बताए । ‘गत आवको तुलनामा चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन र इलेक्ट्रिक सवारीसाधन दुवैको आयात घटेको छ,’ उनले भने ।

उनका अनुसार इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज भन्सार नाका भन्दा उत्तरी नाकाबाट धेरै भित्रिएको छ । यो नाका हुँदै सवारीसाधनको समग्र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ । चालु आव २०८१–०८२ को भदौ मसान्तसम्ममा रु छ करोड एक लाख ७० हजार मूल्य पर्ने ५४ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका छन् ।

आव २०८०–०८१ को सोही अवधिमा रु १३ करोड २५ लाख ५५ हजार मूल्य पर्ने ५८ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका थिए । गत आवको तुलनामा चालु आवमा ६ दशमलव ९० प्रतिशतले आयात घटेको हो । चालु आवको भदौ मसान्तसम्ममा रु छ करोड दुई लाख २६ हजार मूल्यपर्ने २८ वटा ट्रक, मिनीट्रक आयात भएको छ ।

गत आवको सोही अवधिमा रु १६ करोड ८० लाख ८१ हजार मूल्यपर्ने ६८ वटा ट्रक, मिनीट्रक आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा ट्रक र मिनीट्रकको आयात ५८ दशमलव ८२ प्रतिशतले गिरावट आएको हो । चालु आवको दुई महिनामा आठ करोड दुई लाख ३२ हजार मूल्यपर्ने ३८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ ।

गत आवको सोही अवधिमा रु नौ करोड ९३ लाख आठ हजार मूल्य पर्ने ८६ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा ५५ दशमलव ८१ प्रतिशतले आयात घटेको छ । चालु आवको भदौ मसान्तसम्ममा रु १७ करोड २४ लाख चार हजार मूल्यपर्ने ७६ वटा मिनिबस र माइक्रोबस आयात भएको छ ।

गत आवको सोही अवधिमा रु सात करोड १९ लाख ९१ हजार मूल्य पर्ने ३४ वटा मिनीबस र माइक्रोबस आयात भएको थियो । चालु आवको दुई महिनामा गत आवको तुलनामा मिनिबस र माइक्रोबसको आयात एक २३ दशमलव ५३ प्रतिशतले बढेको छ । चालु आवको सुरुवाती दुई महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटे पनि दुईपाङ्ग्रे सवारीसाधनको आयात दोब्बरले बढेको छ ।

चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज भन्सार हुँदै रु दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्यपर्ने रु १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्यपर्ने नौ हजार २६४ वटा मोटरसाइकल आयात भएको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा मोटरसाइकलको आयात ७६ दशमलव ८६ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार १०:०७

लोकप्रिय