सूचनाको शक्ति - The Power Of Information

        

मेडिकल व्यवसायी दुर्गा प्रसाइँ पक्राउ, आजै अदालत लगियो

मेडिकल व्यवसायी दुर्गा प्रसाइँ पक्राउ परेका छन् । आइतबार प्रहरीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो । प्रसाइँलाई पक्राउ गर्ने क्रममा उनका समर्थक विरोधमा उत्रिएका थिए । सोक्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

राजसंस्थाको पक्षमा वकालत गर्दै आइरहेका प्रसाइँले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध अभियान नै चलाएका थिए । उनको अभद्र अभियानका बिच नै प्रसाईंविरुद्ध विभिन्न उजुरी परेका थिए । यद्यपि, प्रहरीले रास्वपा केन्द्रीय सदस्य टिका संग्रौलासहित विभिन्न व्यक्तिको उजुरीको आधारमा पक्राउ गरेको हो ।

प्रसाईँले संग्रौलाको चरित्रहत्या गर्ने गरी आपत्तिजनक अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिलाई लिएर परेको उजुरीमा गत बुधबार काठमाडौं जिल्ला अदालतबाट उनीसहित तीन जनालाई पक्राउ गर्न अनुमति दिएको थियो । प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध अदालतबाट पुर्जी जारी भएको थियो ।

प्रसाईं लगायत विरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको उजुरी परेको छ । पक्राउपछि प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् । पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईंले भने, ‘पक्रे जस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’

पक्राउ परेका प्रसाईंलाई म्याद थपका लागि आजै अदालत लगिएको छ । साइबर व्युरोबाट उनलाई अदालत लगिएको हो । उनलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले हतकडी लगाएर गिरफ्तार गरेको छ । उनी प्रसाईंका अंगरक्षक रहेको खुलेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतवार १७:२०

लोकप्रिय