राजनीतिक दल र तिनका नेताको कारण आमनागरिकमा चरम वितृष्णा छ । दल र नेताप्रति वितृष्णा नेपालमा मात्रै होइन, दक्षिण एसियामै बढ्दो छ । पछिल्लो चार वर्षमा दक्षिण एसियाका तीन देशका देश प्रमुख नै खेदिएका छन् । अमेरिकी सहयोगमा अफगानिस्तानको राष्ट्रपति बनेका अफरफ घानी २०७८ साउनमा देशबाट लखेटिएका थिए । घानीले अफगानिस्तान छाडेर भागेको एक वर्षपछि श्रीलंकाका राष्ट्रपतिको अवस्था पनि त्यस्तै भयो ।
०७९ असारमा श्रीलंकाका गोटाबाय राजापाक्ष जनविद्रोहको कारण देश छाड्न बाध्य भए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको अवस्था पनि श्रीलंकाका गोटाबाय राजापाक्ष र अफगानिस्तानको असरफ घानीको जस्तै भयो । हसिना देशबाट लखेटिएपछि बंगलादेशमा उत्पन्न विद्रोहको भुल्को नेपालमा सल्कन सक्ने आड्कलबाजी भइरहेको बेला यहाँ पनि नेताहरूविरुद्ध आवाज उठ्न थालेको छ ।
सोमबार काठमाडौंको खुलामञ्चमा गौरा पर्व विषेश कार्यक्रम राखिएको थियो । जहाँ प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति शेरबहाददुर देउवा, एमाले नेता भीम रावल लगायत अन्य शीर्ष नेताहरू सहभागी थिए । टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा सहभागी हुन ठुलो भिड जम्मा भएको थियो । भिडबाट नेताहरूको विरोध गर्दै केही युवाहरूले चर्को नारा लगाएका थिए । नारा चलिरहेकै बीचमा काँग्रेस सभापति देउवा मञ्चमा सम्बोधन गर्न पुगेपछि भिड उत्तेजित बन्यो ।
उत्तेजित भिडले नेताहरूको विरोधमा ‘मुर्दावाद’को नारा लगाउन थाल्यो । नाराबाजी र होहल्लालाई चुपचाप हेरेका नेताहरूले बोल्ने पालो आएपछि भने समाज अराजक बनेको र नेपालको मौलिकतामाथि प्रहार गरेको आरोप लगाए । काँग्रेस सभापति देउवाले त झोक्किँदै लाज नभएका बदमासहरू सम्म भन्न भ्याए । ‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला छु म । जति गरेपनि गर्नुस् । जति कराए पनि कराउनुस् । जति कराउनुपर्ने छ कराउउनुस्,’ देउवाले भने,
‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू ? अर्काको कार्यक्रम बिथोल्ने ? लाज छैन ? यही हो तपाईंहरूको संस्कृति ? यही हो तपाईंहरूको चलन ? यही कुरा सिकेर आएको हो ? बदमासहरू !’ देउवाले आक्रोश पोखेपछि प्रधानमन्त्री ओलीले पनि समाज अराजक बन्दै गएको भन्दै अभिव्यक्ति दिए । ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएर नेपाली समाजलाई भाँड्न खोजेको आरोप समेत लगाए ।
उनले भने, ‘नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिऔँ । हाम्रो देश मेलमिलापको देश हो । शान्तिपूर्ण ढंगले चल्ने देश हो । नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजे पनि बिथोलिन र भाँडिन मान्दैन । नेपाली समाज, संस्कृतिले भरिपूर्ण समाज हो । नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गर्नुपर्छ । विश्वव्यापी रुपमा फैल्याउनु पर्दछ ।’ नयाँ पुस्तालाई यस्तो गम्भीर आरोप लगाएका ओली र देउवा नागरिकमा निराशा, आक्रोश किन उत्पन्न भयो भन्ने विषयमा भने बोलेनन् ।
नयाँ पुस्ताले समाज भड्काउन खोजेको गम्भीर आरोप लगाएका प्रधानमन्त्री ओलीले दल र आफूले आत्मसमिक्षाको आवश्यकता पो छ कि भन्ने महसुस समेत गरेको देखिन्न । अहिले नागरिकले हरेक स्थानमा निराशा पोखिरहेका छन् । नागरिकको जल्दोबल्दो विषयमा दल र नेताहरू जिम्मेवार नबन्दा उनीहरूप्रति जनता खनिने गरेका छन् । उत्तर अफ्रिका होस् वा मध्यपूर्व या त दक्षिण एसिया सबैतिर विद्रोहको जड भनेकै शासकप्रति नागरिकको असन्तुष्टि नै रहेको छ ।
नागरिक स्तरमा देखिएको निराशालाई आशामा बदल्न नसक्दा त्यही निराशा, असन्तुष्टि, आक्रोश हुँदै विद्रोहमा बदलिएको छ । देशको समस्याको बोझ उठाउनुपर्ने नेताहरू नै अहिले देशको लागि बोझ भएका छन् । दलको प्रवृत्तिले जनता वाक्कदिक्का भएका छन् । नेताप्रति चरम वितृष्णा छ । सधैँ सत्ताको लडाइँमा व्यस्त हुने दलहरूले देश र जनताको लागि नसोच्दा देशमा दुर्दशा थपिएको छ । जनस्तरमा निराशा बढेको छ ।
देश र जनताको लागि भनेर गरेको राजनीति आफन्त र आसेपासेको लागि मात्रै होइन, श्रीमती, छोराछोरी, बुहारी, भान्जाभान्जी, सालासाली, गर्लफ्रेन्ड, बिचौलिया, तस्कर, व्यापारी, भ्रष्टाचारी र माफियाको मात्रै भएको छ । त्यसैले अफगानिस्तान, श्रीलंका र बंगलादेशको आगो नेपालमा पनि सल्कने खतरा छ । सुशासन कायम गर्न नसक्ने मात्रै नभएर प्रणालीको विकास र कानून कार्यान्वयनमा दल र नेताहरू चुक्ने गर्नाले पनि आक्रोश जताततै देखिन थालेको छ ।
गौरा पर्वको अवसरमा शीर्ष नेताहरू सहभागी कार्यक्रममा होहल्ला र नाराबाजी सभ्याताभन्दा बाहिरको विषय भएपनि नागरिक सन्तुष्ट छैनन् भन्ने बुझेर दल र सरकारले कदम चाल्ने बेला भएको प्रस्ट सन्देश दिएको छ । तर, अझै पनि जिम्मेवार व्यक्तिहरूले नागरिकको निराशा, असन्तुष्टि र आक्रोशलाई ओली र देउवालेजस्तै आरोप मात्रै लगाइरहने हो भने विद्रोहमा परिणत हुने निश्चित छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं