सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के होला महामन्त्रीद्वयको प्रतिवेदन ?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बन्दै आएको छ ।

गगनको चुनावी गठबन्धन गर्न नहुने र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने बारेको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो । बैठक सार्न पर्नुको पछाडि महामन्त्रीको प्रस्ताव तुहाउने पार्टी सभापति शेरबहादुर देउवा खेमाको रणनीति भएको बताइन्छ ।

त्यसो त साउन २५ को बैठकमा परराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा नै शर्माको प्रस्तावको विपक्षमा उभिएकी थिइन् । पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने कुरा एक वा दुई पटकमात्र भनेर तोक्न नहुने भन्दै उनले अनुभवलाई आधार बनाउनुपर्ने तर्क अघि सारेकी थिइन् । उनको भनाइको सोझो अर्थ पार्टी सभापतिलाई फेरि प्रधानमन्त्री हुनबाट रोक्न हुँदैन भन्ने नै हो ।

यही पृष्ठभूमिमा अहिले महामन्त्री शर्माको एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने प्रस्ताव बैठकले पारित गर्ला त भन्ने चासो कांग्रेसजनमा देखिन्छ । किनकि पार्टी संरचनामा देउवालाई तत्काल कमजोर बनाउन सम्भव नभएको कतिपयको दाबी छ ।

अर्का महामन्त्री थापाको आगामी चुनावमा जनताले रूखमा भोट हाल्न पाउने अवस्था निर्माण गर्ने प्रस्तावमा पनि संस्थापन पक्षले ‘काउन्टर’ गरिरहेको छ । देउवा समूहका नेताहरू विमलेन्द्र निधि, प्रवक्ता प्रकाश शरण महत, एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरू नै दुवै महामन्त्रीको प्रस्तावको विपक्षमा उत्रिएका छन् ।

अहिले सतहमा देखिएको विवाद २०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकदेखिकै हो । महासमितिले ठोस निर्णय लिन नसक्दा समस्या झन् गुजुल्टिँदै केन्द्रीय समितिमा फर्किएको हो । महासमिति बैठकमा उठेका विषयलाई समेटेर परिमार्जन सहित प्रतिवेदनहरू केन्द्रीय समितिबाट पारित गर्ने भनिए पनि पाँच महिनासम्म सहमति जुट्न सकेन ।

यही कारण महासमिति बैठकमा प्रस्तुत उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री थापाको साङ्गठनिक र महामन्त्री शर्माको समसामयिक राजनीति प्रस्तावहरूले अहिलेसम्म आधिकारिकता पाउन सकेका छैनन् । संस्थापन पक्षले दुवै महामन्त्रीको प्रस्ताव परिमार्जनसहित पास गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ०७:३५

लोकप्रिय