सूचनाको शक्ति - The Power Of Information

        

माओवादीमा चर्कियो आन्तरिक द्वन्द्व, प्रचण्डलाई जनार्दनको चुनौती

सरकारबाट बाहिरीपछि माओवादी आन्तरिक द्वन्द्व फसेको छ । सत्ताबाहिर आएको केही समयमै यसको परिणाम देखिनेगरी सार्वजनिक भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रचण्डइतर रहेका नेताहरूबीच परस्पर विरोधी धारणाहरू देखिएका छन् । पार्टीका बैठकहरूमा मात्र होइन, सार्वजनिक तहमै यसको तरङ्ग देखिएको छ ।

१५ वर्षयता एमाले र कांग्रेससँग बराबर सहकार्य गर्दै आएको माओवादीमा पटकपटक विग्रह उत्पन्न भएको थियो । हरेक विग्रहमा प्रचण्डलाई साथ दिनेहरू अहिले नेतृत्व परिवर्तनको विषय उठाएर पार्टीमा द्वन्द्व सिर्जना गरिरहेका छन् । माओवादीका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा लगायत विचार मिल्ने पार्टीहरूसँग पार्टी एकता गर्ने भनेर बैठकमा भने पनि आन्तरिक विवाद भने बढ्दै एकता ओझेलमा परेको छ ।

माओवादीमा यदाकदा पार्टीगत अन्तर्विरोध जस्तो देखिए पनि दास–मालिकबीचको संघर्ष हुने गरेको छ । यदि, पार्टीगत अन्तर्विरोध हुँदो हो त उठेका विषयहरू छलफलको माध्यमबाट समाधान हुने थिए तर त्यसरी कहिल्यै समाधान हुन सकेनन् । मोहन वैद्य र बाबुराम भट्टराईहरूले उठाएका विषयहरू समाधान भएनन् र, उनीहरू बाहिर बस्नुपर्ने बाध्यता आयो । आफ्नो विपक्षमा उभिने नेताहरूलाई सत्ताको आडमा तहसनहस बनाइयो ।

माओवादीमा कैयौँ पटक त्यस प्रकारका घटनाहरू भए । पार्टीसत्ता र राज्यसत्ताको प्रयोग गरेर आफ्ना विरोधीहरूलाई कुन हदसम्म लखेटियो भन्ने जीवन्त उदाहरण माओवादीमा सयौँ छन् । अहिले पनि यही परिस्थिति निर्माण गर्न खोजिँदैछ । यसपटक दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएपछि एकाएक सत्ता गुमाएको तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र त्यसयता आन्तरिक विवादको झमेलाले तल्लो तहमा समेत असर पारेको छ ।

प्रतिनिधिसभामा रहेको ३२ सिटको ‘जादुयी नम्बर’ फासफुस भएर प्रधानमन्त्रीबाट धकेलिएका प्रचण्डमा सत्तामोह अझै हटिसकेको छैन । यसपटक उनलाई पार्टीभित्रैबाट धक्का लागिरहेको छ । यसले उनलाई दिनहुँजसो धक्का पुर्याइरहेको छ । जसको चिड्चिटाहट उनको बोलीमा समेत सुनिन थालेको छ । झन्डै साढे तीन दशक पार्टीभित्र सर्वशक्तिमान ‘सुप्रिमो’ रहेर एकछत्र राज गरेका प्रचण्ड सम्भवतः अहिले इतिहासकै कमजोर अवस्थामा देखिन थालेका छन् ।

प्रचण्डको सर्वशक्तिकै कारण विगतमा फरक मत राखेका मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा, नेत्रविक्रम चन्द लगायतका माओवादी हस्ती अहिले फरक पार्टीमा छन् । उनीहरूले पार्टीभित्र रहेर प्रचण्डको सामना गर्ने हैसियतसम्म राख्न सकेनन् र, बाहिरिए । अहिले प्रचण्डलाई उपमहासचिव जनार्दन शर्माले चुनौती दिइरहेका छन् । शर्माले खुलेरै दिनहुँ चुनौती दिइरहँदा प्रचण्ड निरीहजस्तै बनेका छन् ।

यसमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अर्का प्रभावशाली उपमहासचिव वर्षमान पुन लगायतको पनि शर्मालाई घोषित अघोषित साथ देखिन्छ । प्रचण्डसँग अहिले आफ्नै परिवारका सदस्य (छोरीहरू रेणु दाहाल, गंगा दाहाल र भाइ राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल) बाहेकको बलियो आड छैन । अधिकांश नेताहरूले प्रचण्डकै कारण माओवादी केन्द्र कमजोर अवस्थामा पुगेको टिप्पणी गरिरहेका छन् । जसमध्ये शर्माले खुलेरै पार्टीको भविष्यका लागि प्रचण्डले अब नेतृत्व छाड्नुपर्ने प्रस्ताव राखेका छन् ।

केहीदिनअघि पार्टीको स्थायी कमिटी बैठकमै १४ पृष्ठको फरक धारणा लिखित रूपमै राखेर शर्माले अध्यक्ष प्रचण्डको विकल्प अघि सारे । उसो त प्रचण्डसँग शर्मा असन्तुष्ट रहेको कुरा पहिलेदेखि नै सुनिदै आएको थियो । कतिपय मञ्चमा शर्माले आफ्नो असन्तोष राख्ने गरेका थिए । फरक धारणालाई आगामी केन्द्रीय समितिको बैठकमा पेस गरिने भएपनि प्रचण्ड झन् तनावमा रहेका छन् ।

१४ पृष्ठको लिखित धारणामा त पार्टीको मूल नेतृत्वको विकल्प नै खोज्नुपर्ने भनेर बैठकमा प्रस्तुत भएका शर्माको जस्तै लिखित फरक मत नराखेर अर्का उपमहासचिव पुनले पनि मौखिक रुपमा नेतृत्वको विकल्पबारे धारणा राखेपछि प्रचण्ड पुरानो बलियो घेराभन्दा बाहिर रहेको पुष्टि भएको छ । यसरी एकाएक प्रभावशाली नेताहरूबाट घेरिँदै गएका प्रचण्ड अहिले कमजोर अवस्थामा पुगेको पार्टीका नेताहरू बताउँछन् ।

प्रचण्डले उपमहासचिव शर्माको फरक धारणालाई पूर्ण रूपमा अस्वीकार गर्न सकेनन् । केन्द्रीय समिति बैठकमा त्यसबारे छलफल हुने बताएर तत्कालका लागि टालटुल गरे । तर, फरक धारणा राखेकै कारण शर्मामाथि देखिने गरी ‘एक्सन’ भने चाल्न सकेका छैनन् । यता उपमहासचिव शर्माले आफ्नो असन्तुष्टि बोल्न छाडेका छैनन् । माओवादी केन्द्रको काठमाडौं–रुकुम पश्चिम सम्पर्क समन्वय समितिको कार्यक्रममा प्रचण्ड र शर्माको एउटै मञ्चमा जम्काभेट भएपछि सार्वजनिक मञ्चमै शर्माले प्रचण्डलाई उछितो काढेका थिए ।

दुवैले मञ्च सेयर गर्दा फेरि उनीहरू बीच भनाभनको स्थिति देखियो । प्रचण्डअघि बोल्दै शर्माले फेरि अध्यक्ष प्रचण्डकै वरिपरिबाट ‘जनार्दनले पार्टी फुटाउँदै छ’ हल्ला फैलाइएको कुरा उठाएका थिए । प्रचण्डले आफूलाई ‘दलाल’ जस्तो देखेको पनि भन्न भ्याएका थिए । ‘तपाईँहरूले मलाई दलाल जस्तो देख्नुहुन्छ ? म यो पार्टी फोर्ने जस्तो देख्नुहुन्छ ? तर, त्यो आरोप मैले आज खेपिरहेको छु,’ शर्माले भने, ‘पार्टीको उच्च तह र नेतृत्वको वरिपरिबाट देशभरि मैले पार्टी फुटाउँदै छ भनेर बदनाम गरिँदै छ ।’

आफूले अहिले उठाइरहेका कुरामा कुनै पूर्वाग्रह नरहेकोसम्म शर्माले बताएका थिए । पार्टी बनाउने हुटहुटीकै कारण आफूले धारणा राखिरहेको समेत उनले बताए । उनले भने, ‘मैले उहाँ (प्रचण्ड) लाई भनेको छु तपाईँलाई हटाएर मलाई अध्यक्ष हुनु छैन । तर, यो पार्टी आन्दोलन बनाउने हो भने छलफल गर्नुपर्छ भनेर प्रस्ताव राखेको हो । प्रस्तावमा छलफल हुँदै छ । नेतृत्वलाई स्थापित गर्न कुरा राख्दा मैले अनेक आरोप खेप्नुपर्ने ?’

यस्तै, जनार्दन शर्माले आफूलाई कहिले केपी ओली त कहिले कांग्रेसको मान्छे भनेको भन्दै ‘तपाईँ (दाहाल) को मान्छे कहिले हुने ?’ भनेर समेत प्रश्नले निसाना साँधे । शर्माले भने, ‘एमालेसँग एकता गर भन्नुभयो केपी ओलीको मान्छे भएँ, कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भएँ । माओवादीको मान्छे हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला ।’

पार्टीमा लागेको ४८ वर्ष भइसकेको बताउँदै शर्माले ‘माओवादीको हुनुपर्दैन म ?’ भनेर प्रश्नसमेत सोधेका थिए । ‘माओवादी हुन पाउनुपर्दैन म ? प्रचण्डको कहिले हुन्छु होला म ? देउवाको केपीको मात्रै हुने भए, तपाईँको म हुन पाउनु पर्दैन ?’, शर्माले प्रतिप्रश्न गरे । यसअघि, जनार्दन शर्माले पार्टीको बैठकभन्दा बाहिर प्रश्न गरेका थिएनन् । अहिले भने प्रचण्डको ज्यादती अति भएकाले प्रश्न गर्न थालेको शर्मानिकट नेताहरू बताउँछन् ।

हुनत प्रचण्डको जतिसुकै विरोध गरे पनि कांग्रेस एमालेको जस्तो संगठन माओवादीका कुनै पनि नेताले बताउन सक्ने अवस्था छैन । कांग्रेस, एमालेको देशका ७७ जिल्ला, सबै पालिका र लगभग सबै वडाहरूमा ६०–७० वर्ष पुरानो संगठन छ । दुवै पार्टीका सदस्यहरूले कैयौँ प्रक्रियाहरू पूरा गरी पार्टी सदस्यता नवीकरण गर्छन् र नयाँ व्यक्तिहरूलाई सदस्य बनाउने गर्छन् । जिल्ला र स्थानीय तहका नियमित अधिवेशनहरू हुने गर्छन् ।

सबै तहमा लगातार नेतृत्व परिवर्तन भइरहेका हुन्छन् । केन्द्रीय महाधिवेशनहरू पनि नियमित गरिरहेका हुन्छन् । सबै अधिवेशनहरूमा निर्वाचन भइरहेको हुन्छ । आन्तरिक प्रतिस्पर्धालाई कुनै रोकावट छैन । निर्वाचन तिनीहरूको पार्टीहरूको जीवन्त पक्ष हो । निर्वाचनले तिनीहरूको संगठनलाई गतिशील र जीवन्त बनाइरहेको हुन्छ, जसले कार्यकर्ताको मन र मत जित्छ, उसैले नेतृत्व गर्ने गर्छ ।

देशभरका सामुदायिक वन, विद्यालय, खानेपानी, सहकारी, महिला समूह, युवा, विद्यार्थी र महिला संगठन, सम्पर्क समितिहरूमार्फत लाखौँ व्यक्तिहरूलाई संगठित गरेका छन् । झन्डै ३० वर्ष सरकार चलाएको हुनाले हजारौँ कार्यकर्तालाई आलोपालो गरी राज्यकोषबाट तलब, भत्ता खाने गरी व्यवस्थापन गरेका छन् । अन्य हजारौँ व्यक्तिहरूलाई राजनीतिक नियुक्ति, चुनावमा टिकट, ठेक्कापट्टा वा यस्तै आश्वासनहरू दिएर पार्टीमा संगठित वा प्रतिबद्ध बनाएका हुन्छन् ।

सकेसम्म धेरै जनसंख्यालाई संगठित गर्ने, नियमित बैठक गर्ने गरिएका कारण तिनीहरूको संगठन बलियो रहेको छ । माओवादीमा भने यस्तो अवस्था देखिँदैन । माओवादीमा भएकाहरूले पनि पार्टी नेतृत्वसँग पौठेजोरी खोजेर बाहिरिएका छन् । त्यही भएकाहरू पनि नेतृत्वको वरिपरि मात्रै घुम्छन् । यी र यस्तै प्रवृत्तिले माओवादीभित्र असन्तुष्टि चुलिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार ०८:२४

लोकप्रिय