सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्ड-जनार्दन टकराव सार्वजनिक मञ्चबाटै छताछुल्ल

हालै सरकारबाट बाहिरिएको नेकपा माओवादीभित्र आन्तरिक किचलो बढेको छ । पार्टी अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीचको असन्तुष्टि सार्वजनिक रुपमै व्यक्त भएको छ । पार्टी विभाजनको आरोप खेपिरहेका शर्माले शनिबार सार्वजनिक मञ्चबाटै प्रचण्डप्रति गुनासो पोखेका छन् । प्रचण्डले पनि फरक मतको सम्मान गर्ने तर सधैं अत्याचार गरेको भनेर आफूमाथि आरोप लगाइरहन जरुरी नभएको जवाफ दिएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्र काठमाडौं–रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष र उपमहासचिवबीच मञ्चबाटै सवाल–जवाफ भएको हो । उपमहासचिव शर्माले पार्टीभित्रबाटै आफूले विभिन्न आरोप खेपिराख्न परिरहेको गुनासो गरे । उनले आफूले अन्य दलहरुसँग सहकार्यका क्रममा सहयोगी भूमिका निभाएको र अहिले तीनै दलमा जान लागेको भनेर पार्टीभित्रैबाट आरोप आइरहेको गुनासो गरे ।

उनले भने, ‘एमालेसँग एकता गर भन्नुभयो, केपी ओलीको मान्छे भएँ । कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भएँ । माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला ? हुन पाउनुपर्यो नि ! ४८ वर्ष भइसक्यो पार्टीमा लाग्या, माओवादी हुन पाउनुपर्दैन म ? प्रचण्डको कहिले हुन्छु होला म ? देउवाको, केपीको मात्रै हुने भएँ, तपाईंको म हुन पाउनुपर्दैन ? त्यसकारण तथ्य छाडेर भ्रम सिर्जना गरेर केही हुँदैन ।’

शर्मालाई जवाफ दिने क्रममा प्रचण्डले बहसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरे । खुला छलफलले आफूहरुबीच देखिएको आशंका मेटिने दाहालको भनाइ थियो । उनले भने, ‘कमरेड प्रभाकरले केही कुरा राख्नुभयो । कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि नै अटुट रुपमा सँगै काम गर्दै आइरहेका छौं, तर उहाँले भनेको जस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिंगो देशले बुझेको कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोसिए झैं ठोसिने चाहिँ गरेकै छौं । अहिलेमात्रै होइन, जनयुद्ध कालमा पनि, पछि पनि र अहिले पनि, तर यो अगुल्टो ठोसिए जस्तो ठोसिनु आगो बाल्न, खाना पठाउन र राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु यो पटक अझ राम्रो हुनेछ ।’

प्रचण्डले अहिले भएको विवाद र बहसले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे । प्रभाकरले पार्टी फुटाउँदैछ भनेर आफूले नसोचेको तर भ्रमको कारणले आशंका पैदा गरेको प्रचण्डले बताए । उनले स्थायी कमिटीको बैठकपछि पार्टी फुट्दैछ भन्ने मान्यतालाई खारेज गरेको जिकिर गरे । शर्माले उठाएको विषयलाई केन्द्रीय कमिटीको दस्तावेजमा समेटेर लैजाने उनले बताए ।

प्रचण्डले थपे, ‘केही गम्भीर आशंकाका कुराहरु छन् अझै पनि । त्यस्तो कुरामा मैले र प्रभाकरले अध्ययन अनुसन्धान गर्ने, यस्तो आशंकाको स्थिति कसरी बन्यो भन्नेबारेमा सँगै बसेर अनुसन्धान गर्ने, नभए केन्द्रबाट टिम बनाएर पनि अध्ययन गर्ने । अहिले भ्रमको कुराहरु चिरिएका छन् । त्यसैले कमरेड प्रभाकरले पनि ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन । तपाईंले बहस गरेर राम्रो भयो । तपाईंले भनेको कुरा मूल नेतृत्वले नकारात्मक ढंगले लिएको भए बैठकले तपाईंले उठाएको विषय पार्टीले स्वीकार्दैनथ्यो । यो कुरालाई तपाईंले गहिरोसँग आत्मसात गर्नुपर्छ ।’

पार्टी फुट्दैछ भन्ने कुरालाई खारेज गरेर आफ्नो सचिवालयबाट भ्रमको धेरै चर्चा भएको भन्ने विषयमा पनि अध्यनन गर्ने प्रचण्डले बताए । माओवादीका उपमहासचिव जनार्दन शर्माले पार्टीको स्थायी समिति बैठकमा पेस गरेको प्रस्तावमा नेतृत्व हस्तान्तरणको विषय पनि उठाइएको छ । माओवादीमा तीन दशकदेखि प्रचण्डसँगै रहेका शर्माले माओवादीको खस्कँदो जनाधारमा सुधार गर्न नेतृत्वबारे तीन किसिमका परिवर्तन हुनुपर्ने औँल्याएका छन् । जसमा नेतृत्व हस्तान्तरण, नेतृत्व पुस्तान्तरण र विशेष महाधिवेशन माग गरिएको छ ।

‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,’ शर्माको नेतृत्व हस्तान्तरणको प्रस्तावमा भनिएको छ । उनले प्रचण्डलाई पार्टीको संरक्षकको भूमिकामा रहेर तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने विकल्प पुस्तान्तरणको अवधारणामा अघि सारेका छन् ।

तेस्रो विकल्पमा उनले हालको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने र महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न सकिने प्रस्ताव गरेका छन् । जनार्दनको नेतृत्व हस्तान्तरणको प्रस्तावमा अर्का उपमहासचिव वर्षमान पुनले पनि समर्थन जनाएको पार्टीका नेताहरूले बताएका छन् । यो विषय बाहिर आएसँगै प्रचण्ड र जनार्दनबीच टकरावको स्थिति देखिएको हो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतवार ०८:१०

लोकप्रिय