सूचनाको शक्ति - The Power Of Information

        

जनार्दनको प्रस्तावले माओवादीमा हलचल

नेकपा (माओवादी केन्द्र) अहिले तीब्र वैचारिक तथा सांगठनिक संकटबाट गुज्रिरहेको छ । अध्यक्ष प्रचण्ड २०४३ सालदेखि निरन्तर मूल नेतृत्वमा रहेका छन् । उनको नेतृत्वमा पार्टीले जन विद्रोहको ऐतिहासिक पहलकदमी लियो र त्यसले मुलुकको समग्र राजनीतिमा उल्लेखनीय प्रभाव पार्न सफल भयो ।

प्रचण्ड अध्यक्ष थिए र साथमा थिए जनयुद्धका वैचारिक तथा दार्शनिक डिजाइनर मोहन वैद्य र बाहिरी विश्वले पत्याएको अनुहार डा.बाबुराम भट्टराई । तर अहिले यी तिन नेता एउटै डुङ्गामा सवार छैनन् । माओवादी जनयुद्धलाई उत्कर्षमा लगेर पार्टीलाई सत्तासिन बनाउन प्रभाकर, विप्लव, वर्षमानजस्ता सैन्य कमाण्डरहरु थिए । अनि थिए वौद्धिक र सालीन नेता कृष्णबहादुर महरा जस्ता दर्जनौं योद्धाहरु ।

हजारौंको बलिदान र सहादतद्वारा प्राप्त भएको उपलब्धी आज प्रचण्ड परिवारको मात्र विरासत बन्न पुगेको छ । माओवादी आन्दोलनको मूल समस्या नै यही बन्न गयो । माओवादीको पार्टीको इतिहासको अर्को पक्ष पनि छ । जहाँ प्रचण्डको असफलताको कथा जोडिएको छ । उनकै नेतृत्वकालमा पार्टी छिन्नभिन्न भयो । २०६४ को निर्वाचनमा एक नम्बर बनेको पार्टी अहिले मुश्किलले तेस्रो ठूलो दल बन्न पुग्यो ।

कांग्रेस–एमाले कुनैको पुच्छर नसमातेर चुनाव लड्न नसकिने अवस्थामा पार्टीको हैसियत देखियो । तर पनि प्रचण्ड बिना माओवादी पार्टी रहँदैन भनेर हल्ला पिट्न लगाइएको छ । इतिहासको व्याजले सधैं पुग्ने भए आज शेख हसिनाले रुँदै देश छोड्नुपर्ने थिएन । उनका पिता बंगलादेशका निर्माता थिए । हसिनाले पिताको योगदानको व्याजमा तानाशाही लाद्न खोजिन जुन जनताका लागि सह्य भएन ।

त्यसैले कसैले एकपटक गरेको योगदानको दुरुपयोग गरेर बाँचुञ्जेल आफू र आफ्ना सबै शाखा सन्तानलाई ऐश, आराम र विलाशको साधन नबनाऔं । शेख हसिनाले १५ वर्ष निरन्तर सत्ताको नेतृत्व गरिसकेकी थिइन । बाँचुञ्जेल प्रधानमन्त्री बन्ने लोभ नराखेको भए शायद यति हरिविजोग व्यहोर्नु पर्ने थिएन होला । सम्मानजनक बहिगर्मन हुुन्थ्यो होला । माओवादी पार्टीमा पनि झण्डै दुई दशक लामो नेतृत्वबाट प्रचण्डले सम्मानजनक विदाई लिंदा नै उनको उचाई बढ्न सक्थ्यो ।

यस्तै परिवेशबीच पार्टीको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीमा नयाँ नेतृत्वबारे तीन वटा प्रस्ताव अघि सारेका छन् । उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव गरेका हुन् । नेतृत्व हस्तान्तरणबारे शर्माको प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने ।’

यस्तै उनले नेतृत्व पुस्तान्तरण गर्ने हो भने अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने प्रस्ताव गरेका छन् । तर नेता शर्माको प्रस्तावले एकथरी मानिसहरुमा हलचल पैदा भएको बैठकमा सहभागी एक नेताले बताएका छन् । नेतृत्वको चाकडी गरेर खान पल्केकाहरु नेता शर्माको विरुद्ध लागेको पनि उनले बताए ।

हालका पदाधिकारीहरु हट्न तयार नभए हालको केन्द्रीय कमिटी भङ्ग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने उनको प्रस्ताव रहेको ती नेताले जानकारी दिए । पार्टी बनाउन अब कुनै न कुनै विकल्पमा जानै पर्ने नेता शर्माको जोड रहेको छ । पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यतामा विकास गर्न जरुरी रहेको शर्माको भनाइ रहेको एक नेताले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतवार १६:१४

लोकप्रिय