पहिचानका लागि ? प्रतिनिधित्वका लागि ? विकासका लागि ? सङ्घीयताबाट के हासिल भयो ? न ऐतिहासिकता, न औचित्य, न पहिचान, न सामर्थ्य, न जातीय क्लस्टर, न शक्ति विकेन्द्रीकरण, न प्रतिनिधित्व । अब पनि सङ्घीयता आवश्यक छैन भन्नेहरूलाई प्रतिगामी या लोकतन्त्र विरोधीको आरोप लगाउनु या त मूर्खता हो, या राजनैतिक बेइमानी ।
– जसले जात र समुदायको पहिचान भनेर आम नागरिकलाई बन्दुक बोकाए, हजारौं नागरिकको बलि चढ़ाए, तिनैले दुई तिहाई मत प्राप्त गरेपछि ह्वीप जारी गरेर प्रदेशको नाम लुम्बिनी राखे, गण्डकी राखे । के यी नाम सङ्घीयता अगाडि थिएनन् र ?
– प्रतिनिधित्वको कुरो त मजाकमात्रै थियो । सत्ता र शक्तिमा तिनै छन् जसले हिजो पनि सत्ताको स्वाद चाखेका थिए । सातै प्रदेशमा पुरुष मुख्यमन्त्री छन् । यतिसम्म कि महिला मन्त्रालयमा पनि निर्लज्ज रूपमा पुरुष मन्त्री छन् ।
– विकेन्द्रीकरण त झन् मजाकजस्तो छ । सुदूरपश्चिममा मन्त्री बन्न तीन महिनादेखि बुढानीलकण्ठ या बालकोट धाएको देख्नुभएकै होला । प्रदेश सरकार भनेको काठमाडौंमा भाग लगाएर कसलाई कुन बाँड्ने भन्ने निर्णय हुँदै आएको छ । झन्डै एक खर्ब त तिनको कार्यालय र गाड़ी किन्न खर्च भएको छ ।
दलदास नबनी हेर्ने हो भने के यति सानो देशमा नौ वटा संसद र नौ जना सभामुख चाहिन्छ ? ८०० सांसद र १५० बढ़ी मन्त्री चाहिन्छ ? देशको राजश्वले नधानेर भारत–चीन र अमेरिकासँग हात फैलाउनुपर्ने संरचना चाहिन्छ ? हाम्रा वडाध्यक्षका कार्यकक्ष समेत बेलायती मन्त्रीका कार्यालयभन्दा खर्चिला छन् । तामझाम र उन्माद त छ तर सेवाको भाव शून्य छ । एउटा दलितले दलित भएको सिफारिश लिनसमेत पैसा तिर्नुपर्छ ।
प्रदेश सांसददेखि मन्त्रीसम्मका सल्लाहकार, गाड़ी, निवास, भत्ता र शानमानको खर्च हाम्रो पसिनाको करले पुग्नेभन्दा धेरै महँगो छ । तिनले चढ्ने गाड़ी र पेट्रोलका लागि हामीले कर तिरेर मात्रै पुग्दैन, विदेशी ऋण समेत थाप्लोमा बोक्नुपर्छ । महामारीमा हेलिकप्टर चढ्ने नेताको निःशुल्क उपचार हुने तर दैनिक छाक जुटाउन नसक्नेले धरौटी राख्नुपर्ने अवस्था छ । तिनै अकर्मण्य, तिनै अक्षम, तिनै अशिक्षित र तिनै विवेकहीन दस्तालाई भागशान्ति मिलाएर आजीवन जागिर खुवाउनेबाहेक सङ्घीयताले केही दिएको छैन ।
अलिकति विभाजन, अलिकति कर र अलिकति गरिबीबाहेक यसले केही दिँदैन पनि । समृद्धि त बालुवाटार किन्न सक्ने सुकुम्बासी र देशलाई नै शरणार्थी बनाएर बेच्न सक्नेहरूको मात्रै आउने हो । गाउँको एउटा नहर बनाउन चाहिने पचास लाख केन्द्रको योजनाआयोग, प्रदेशको योजनाआयोग, सङ्घीय सरकारका बैठक भत्ता, प्रदेश सरकारका सांसद र मन्त्री अनि स्थानीय सरकारका कमिशन हुँदै पचास हजारमा आइपुग्छ र त्यतिले कागजमा मात्रै नहर बन्छ ।
तर नहरमा पानी नआए पनि हाम्रो काँधमा ऋणचाहिँ ब्याज र कमिशन गरेर ८० लाखको आइपुग्छ । फेरि त्यो कागजी नहरको लेखापरीक्षण भन्दै स्थानीय, प्रदेश र केन्द्र गर्दै अर्को १० लाख खर्च हुन्छ । १० खर्ब राजश्व नउठ्ने देशमा ११ खर्व खर्च गरेर मन्त्री र कर्मचारी पाल्ने हो भने विकास गर्ने पैसा कहाँबाट ल्याउने ? विदेशीको ऋण खाएको छ, त्यसको साँवाब्याज तिर्ने तीनचार खर्व कहाँबाट ल्याउने ?
तपाईंले ढाड सेक्ने गरी तिरिरहेको करबाट एक सुका पनि विकासका लागि बच्दैन भने कस्तो समृद्धिको भाषणमा ताली बजाउने ? भारतको सङ्घीयता हेर्ने, तर उसको एउटा राज्य उत्तरप्रदेशको जनसङ्ख्यामात्रै हाम्रो देशको भन्दा आठ गुना बढ़ी भएको तथ्य नहेर्ने ? कहाँ २४ करोड़को एउटा राज्य, कहाँ तीन करोड़मा सात वटा राज्य । हो हामीलाई समानता, समता, समावेशिता र एकता चाहिएको छ ।
सधैँभरि विदेशीलाई श्रम बेच्न नपर्ने खालको अर्थतन्त्र चाहिएको छ । देशको नक्सा काटेर हासिल हुने विषय होइनन् यी । हाम्रो बाटै गलत छ । टुक्रा काटेर, कित्ता काटेर पहिचान खोज्ने होइन, सिङ्गो देश नै तपाईंको पहिचान हो । एउटा बित्ताजत्तिको कित्ता मात्रै तपाईंको होइन, चारवटै भित्ताभित्रको सिङ्गो देश तपाईंको हो । हामीसँग स्थानीय तह छन् । त्यसैलाई परिमार्जन गर्ने हो भने पहिचान, विकेन्द्रीकरण र स्थानीय प्रतिनिधित्व त्यसले सुनिश्चित गर्न सक्छ ।
समावेशिताका लागि अन्य थुप्रै प्रभावकारी र परीक्षित उपकरण छन्, उपाय छन् । सङ्घीयता बास्तवमैं औचित्यहीन छ । हो, सङ्घीयताको समर्थन या बचाउ गर्न सकिन्छ । तर अझै पनि दलदास बन्दै विवेक बन्दकी राखेर सङ्घीयताको विरोध गर्ने जति मण्डले हुन् भन्ने सुगा रटाइ रट्नु जरूरी छैन । लुम्बिनी अञ्चलभन्दा प्रतिगामी हुने तर लुम्बिनी प्रदेशभन्दा अग्रगामी हुने कसरी हुन्छ र ?
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
नारायण गाउँले । काठमाडौं