मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इन्धनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।
आव २०७९–०८० मा वीरगञ्ज नाकाबाट रु.३३ अर्ब १३ करोड बराबरको दुई लाख ९० हजार २८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा रु.३० अर्बको दुई लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको जानकारी दिए ।
उनका अनुसार ११ हजार २३८ मेट्रिकटन कम ग्यास आयात भएको हो । भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार अघिल्लो आवमा वीरगञ्ज नाकाबाट रु.१७ अर्ब ३१ करोडको पाँच लाख ९७ हजार १४४ किलोलिटर (केल) हवाई इन्धन आयात भएकामा गत आवमा रु. १८ अर्ब २१ करोडको एक लाख ७३ हजार ४८४ केल आयात भएको छ ।
सूचना अधिकारी कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रूपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताए । वीरगञ्ज नाकाबाट आव २०७९–०८० को तुलनामा गत आवमा डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको उनले जानकारी दिए ।
आव २०७९–०८० मा रु.एक खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार ५०६ केल डिजल र रु.३८ अर्ब २४ करोडको तीन लाख ८९ हजार ७११ केल पेट्रोल आयात भएको जनाउँदै गत आवमा रु.एक खर्ब नौ अर्ब २९ करोडको १० लाख ८३ हजार ५२० केल डिजल र रु.३९ अर्ब दुई करोडको तीन लाख ९४ हजार ७२३ केल पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिए । उनका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धन आयात वीरगञ्ज नाकाबाट हुने गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं