सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य सन्दर्भ

स्वास्थ्य मन्त्रालयमै जंक फुड !

तर, यस्तो दृष्टान्तले देशको स्वास्थ्य क्षेत्र राम्रो होला भनेर आशा गर्ने ठाउँ दिंदैन ।

केही महिनाअघि म काम विशेषले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेकी थिएँ। त्यहाँका उच्च पदाधिकारीहरू कोठामा चाउचाउको सुप खाइरहेका थिए । मलाई देखेर उनीहरू झस्केझैं भए । एक जनाले भने, ‘हत्तेरिका ! तपाईं पो आइपुग्नुभएछ । यसबारे नलेखिदिनुस् है ।’

मैले भनें, ‘नाम त लेख्दिनँ, तर स्वास्थ्य सम्बन्धी उच्च निकायकै पदाधिकारीले चाउचाउ खाएको भनेर त लेख्नैपर्छ । तपाईंहरू आफैं पत्रु खानाविरुद्ध लेख्ने र बोल्ने मान्छे, आफैं यस्तो खाना खाँदा अरूले के सिक्लान् ? मन्त्रालयको क्यान्टिनमा स्वस्थकर खाजा छैन र ?’ जवाफ आयो, ‘छन त छ । रोटी, चिउरा, अण्डा, तरकारी । तर, त्यो खाँदाखाँदा वाक्क भएर आज चाउचाउ खाएको । अबदेखि खान्नौं ।’

विद्यालयमा कक्षा पाँचसम्म दिवा खाजामा पत्रु खानेकुरा नदिनू भन्ने नीति बनाउने सरकारी पदाधिकारीहरू आफैं त्यस्तो खानेकुरा खान्छन् भने उनीहरूले बालबालिकालाई ती वस्तु नखानू भन्न सक्लान् ? विद्यालय वरिपरि पत्रु खानाको बिक्री र प्रयोग रोक्ने अनि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य चौकीमा त्यस्ता खानेकुरा खाने हो भने अभिभावकलाई कसरी पत्रु खाना बच्चालाई नदिनू है भन्न सकिएला ?

स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीको यो भनाइले मलाई लाग्यो, ‘हामी बालबालिकाले चाउचाउ खाएर मोटोपन भयो, मुटुरोग, उच्च रक्तचाप भयो भन्छौं । सानो उमेरको संवेदनशीलता र शारीरिक विकास हुने बेला देखिएको अवरोध हेरेर हामीलाई बढी चिन्ता लाग्नु ठीकै हो, तर यी ठूला मान्छेलाई पनि मोटोपन त छ ।’

शायद स्वास्थ्य मन्त्रालयका कति पदाधिकारीहरू मधुमेह, उच्च रक्तचाप भएर औषधि खाइरहेका होलान् । ‘ठूलाबडा’ले यस्तो गरेपछि यिनको घरपरिवारका बालबालिकाले पनि त्यसैको देखासिकी गर्लान् । स्वास्थ्यबारे सजग पार्ने र नीति–नियम बनाउने निकायमै पत्रु खाना खपत हुनु, त्यहाँका व्यक्तिहरू आफ्नै खानपिनमा त्यसरी बेपरवाह बन्नु एउटा घटनाक्रम मात्र होला । तर, यस्तो दृष्टान्तले देशको स्वास्थ्य क्षेत्र राम्रो होला भनेर आशा गर्ने ठाउँ दिंदैन ।

घरका पौष्टिक खानेकुरा छाडेर बजारका जंक फूड खाने प्रवृत्तिका कारण बालबालिकाहरू मोटोपनको शिकार मात्र भइरहेका छैनन्, उनीहरूको शारीरिक तथा मानसिक विकासमा असर परेको छ । वास्तवमा नियम अनुसार स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा यस्ता पत्रु खाना राख्न नै नदिनुपर्ने हो ।

डाक्टर र स्वास्थ्यकर्मीले बिरामी जाँच्ने क्रममा चुरोट खाएर धुवाँ उडाउँदै ‘तिम्रो छातीमा खराबी छ, तिमीले अब चुरोट छोड्नु है’ भन्दा बिरामीले मान्लान् र ? धेरैजसो डाक्टरले त यस्तो प्रवृत्ति छोडिसकेका छन् । अहिले डाक्टरले अस्पतालमा चुरोट खानुपर्यो भने लुकेर खान्छन्। यसै गरी, स्वास्थ्यकर्मीले पनि पत्रुु खानालाई कमसेकम अफिसमा त्याग्नुपर्छ । चुरोट र मदिरा झैं पत्रु खानाको ‘कुलत’ लाग्न सक्छ, साना र ठूला सबैलाई ।

स्रोत : लेखकको फेसबुकबाट
प्रकाशित मिति : २० श्रावण २०८१, आइतवार १४:५६

लोकप्रिय