नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । शपथ कार्यक्रम राष्ट्रपति निवास शीलत निवासमा साँझ ५ बजेका लागि तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका थिए ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । लुम्बिनीका घर्ती नेपाली कांग्रेस रोल्पाका पूर्वजिल्ला सभापति हुन् । सभापति शेरबहादुर देउवानिकट मानिने उनी कांग्रेस विभाजन हुँदा देउवाको पक्षमा थिए । १४ वर्ष जिल्लामा पार्टीको नेतृत्व गरेका उनी १४औं महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि बन्ने दौडमा रहेका बेला वडामै पराजित भएका थिए ।
२०१६ माघ १० गते रोल्पाको घर्तीगाउँमा जन्मिएका उनले २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसंघबाट राजनीति सुरु गरेका थिए । विभिन्न आन्दोलनमा जेलमा समेत पुगेका घर्ती २०४७ मा पार्टीको जिल्ला समिति सदस्य हुँदै सचिव बनेका थिए । २०४९ मा साबिक घर्तीगाउँ विकास समितिको अध्यक्ष भए । तर जिविस सभापतिमा तत्कालीन संयुक्त जनमोर्चाका झक्कुप्रसाद सुवेदीसँग हारेका थिए ।
घर्तीले २०५० सालदेखि रोल्पाको लिवाङमा तुलसी इङ्लिस बोर्डिङ स्कुल चलाउँदै आएका छन् । घर्ती नेपाली कांग्रेस विभाजन भएर देउवाले बनाएको कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति भएका थिए । घर्ती २०४८ देखि २०७२ सम्म महासमिति सदस्य रहेका थिए । २०५९ देखि प्रजातान्त्रिक कांग्रेसमा रहेका थिए । उनी २०५९ मा आमन्त्रित केन्द्रीय सदस्य र पछि केन्द्रीय सल्लाहकार बनेका थिए ।
कर्णालीको प्रदेश प्रमुखमा सिफारिस भएका जोशी कञ्चनपुरबाट प्रदेशसभा निर्वाचन हारेका व्यक्ति हुन् । ०७४ सालको प्रदेश सभा निर्वाचनमा कञ्चनपुर ३ (क)मा एमालेका प्रकाश रावल (हाल नेकपा एस)सँग पराजित भएका थिए । सभापति देउवानिकट मानिने उनी १४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए । बागमती प्रदेशको प्रमुखमा सिफारिस भएका देवकोटा एमाले अनुशासन आयोगका सदस्य तथा एमालेका पूर्व केन्द्रीय सदस्य हुन् ।
उनी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छन् । यसअघि बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियार थिए । असार २९ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुखबाट पदमुक्त भएका शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनै जनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं