कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भइरहे पनि बजार अभाव र रोगको प्रकोपका कारण किसान निराश हुन थालेका छन् । भारतबाट आयात हुने कागतीले समेत स्थानीय उत्पादनको बजारमा समस्या सिर्जना गरेको किसानहरुको भनाइ छ ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले झापामा आर्थिक वर्ष २०७६–०७७ मा १७८ हेक्टर, आव २०७७–०७८ मा २०४ हेक्टर, आव २०७८–०७९ मा ३०० हेक्टर, आव २०७९–०८० मा ३०० हेक्टर र आव २०८०–०८१ मा २७० हेक्टर क्षेत्रफलमा कागती खेती भएको बताए ।
आव २०७९–०८० देखि जिल्लामा कागती खेतीको क्षेत्रफलमा कमी आउन थालेको छ । उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०–०८१ मा एक हजार ४०८ मेट्रिक टन कागती उत्पादन भएको छ । उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव ७५ मेट्रिक टन रहेको छ । ‘जिल्लाको माग धान्ने गरी उत्पादन हुने गरेको छ,’ उनले भने, ‘किसानहरु बिक्रीमा समस्या आएको बताउनुहुन्छ । बजारीकरणका बारेमा गम्भीर भएर सोच्ने बेला आइसकेको छ ।’
सरकारले कागती खेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धान खेत मासेर कागतीका बिरुवा रोपेका थिए । तत्कालीन कृषि विकास कार्यालयले तालिम, बिरुवा र मल दिने नीति ल्याएको थियो । पछि कृषि ज्ञान केन्द्रले कागतीमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ थप प्रोत्साहनका कार्यक्रमहरु ल्यायो ।
कागती खेतीमा होमिएका किसानले बिरुवा, मल र सीप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गर्दै आएका छन् । पछिल्लो समय किसान साना गाडी लिएर गाउँगाउँमा कागतीका पोका बेच्दै हिँड्न बाध्य छन् । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०–०८१ मा छ करोड २७ लाख २० हजार रूपैयाँको ८९६ मेट्रिक टन कागती भारतबाट भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
‘चियाका बोट मासेर कागतीको व्यावसायिक खेती थालेको थिएँ,’ विर्तामोड–६ का कमलराज बिमलीले भने, ‘सुरु सुरुमा त राम्रो फल्यो र आम्दानी पनि राम्रै पाइयो तर पछिल्लो समय रोगले बोट मास्न थाल्यो । भारतबाट सस्तो मूल्यमा भित्रिने कागतीले स्थानीय उत्पादनको बजार खर्लप्पै खान थालेको छ ।’ कागतीको बोटमा टुप्पो सुक्ने प्रकोप देखापरेको उनले बताए । विगत एक वर्षमा कागतीका ४०० बोट सुकेर मरेको उनको भनाइ छ ।
झापामा कम्तीमा तीन सय किसानले कागतीको व्यावसायिक खेती गर्दै आएका छन् । केही सहकारी संस्थाले आफै र आफ्ना सदस्यलाई पनि यस खेतीमा लगाएका छन् । झापामा सुन–१, सुन–२, मद्रासी, युरिका र एनपीआरपी–५५ जातको कागतीखेती हुँदै आएको छ । कागतीको उत्पादन बढेपछि यसलाई कच्चापदार्थका रुपमा प्रयोग गर्ने अचार र जुस लगायत ठूला उद्योगहरु स्थापना नहुँदा किसानले सोचेजस्तो आम्दानी लिन सकेका छैनन् ।
बुद्धशान्ति गाउँपालिका–२ का रामप्रसाद उप्रेतीले एक बिघा जमिनमा लगाएको कागतीले विगत चार वर्षदेखि उत्पादन दिइरहेको छ । वार्षिक पाँच लाख रूपैयाँको कागती बेच्दा आधा रकम नाफा हुने उनले बताए । ‘आम्दानी नै नहुने खेती त होइन,’ उप्रेतीले भने, ‘धानखेतीको तुलनामा दश गुणा बढी आम्दानी हुँदोरहेछ तर अहिले बजार पाउन गाह्रो हुँदै गयो ।’ उनले कागती बारीमा सुपारीखेती गरेर थप आम्दानी लिएका छन् ।
दुईजनालाई बाह्रै महिना कामदारका रुपमा रोजगारी दिएका उनले बोटबाटै प्रतिगोटा तीन रूपैयाँमा व्यापारीले कागती किन्ने गरेको बताए । धान र अरू खेतीमा जस्तो खर्च ज्यादा नहुने भएकाले कागती सहजरुपमा बिक्री हुने वातावरण बन्ने हो भने फाइदै फाइदा हुने उनको अनुभव छ । सिजन अनुसार मल, सिँचाइ, गोडमेल र फल टिप्दा स्थानीयले थप रोजगारी प्राप्त गरेका छन् । मेचीनगर, बुद्धशान्ति, विर्तामोड, अर्जुनधारा र गौरादह कागतीखेतीका लागि उर्वर पालिका बनेका छन् ।
कचनकबल–२ का जगदीश राजवंशीले बजार र प्रकोपबाट पीडित भएर कागतीखेती मास्न बाध्य भएको बताए । उनको खेतमा हजुरबुबाको पालादेखि कागतीखेती हुने गरे तापनि व्यावसायिक खेती भर्खर गरिएको थियो । ‘दुई वर्षअघि ठूलो हावाहुरी र असिनाले क्षति पुर्याएपछि कागतीखेती मास्नुपर्यो,’ उनले भने, ‘किसानको क्षति हुँदा क्षतिपूर्ति दिने ठाउँ हुँदोरहेन छ । मैले कागतीबाट राम्रै आम्दानी पाएको थिएँ ।’
जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्रांगारिक पदार्थ भएको पिएच पाँच दशमलव पाँचदेखि छ दशमलव पाँचसम्म भएको दोमट माटो कागतीखेतीका लागि सबैभन्दा उयपुक्त मानिन्छ । पछिल्लो समय कागतीका बोटमा डाँठ पहेँलो हुने, पातमा कालो दाग आउने, जरा कुहिने र हाँगा सुक्ने लगायतका रोगले आक्रमण गरेको किसान रामप्रसाद उप्रेतीको गुनासो छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । झापा