सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक सुरक्षा भत्ताका लागि बाँकेमा दुई अर्ब निकासा

गत आर्थिक वर्षमा बाँके जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि करिब दुई अर्ब निकासा गरिएको छ । आर्थिक वर्ष २०८०–०८१ मा बाँकेका आठ स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि एक अर्ब ८० करोड १३ लाख ३१ हजार ३१३ रुपैयाँ बजेट आएको थियो ।

सोमध्ये एक अर्ब ८० करोड ७ लाख ३५ हजार ५१६ रुपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय, बाँकेका प्रमुख मोहन शरण भण्डारीले जानकारी दिए । उनले करिब सबै रकम निकासा भएको जनाउँदै सरकारले बाँकेमा सामाजिक सुरक्षा भत्ताका लागि एक अर्ब ८० लाखभन्दा बढी खर्च गर्दै आएको बताए ।

बाँकेमा सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ता नेपालगन्ज उपमहानगरपालिकाले वितरण गर्दै आएको प्रमुख भण्डारीले बताए । उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा गत आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ४३ करोड १० लाख २४ हजार ८१ रुपैयाँ निकासा भएको थियो ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय बाँकेका अनुसार, बाँकेको कोहलपुर नगरपालिकामा २५ करोड ५ लाख ६४ हजार ९०८,बैजनाथ गाउँपालिकामा २४ करोड पाँच हजार ५४३ रुपैयाँ, खजुरा गाउँपालिकामा २३ करोड ६६ लाख ९५ हजार ८५८ रुपैयाँ सामाजिक सुरक्षा भत्ताका लागि निकासा भएको थियो ।

त्यस्तै, राप्तीसोनारी गाउँपालिकामा २१ करोड ३६ लाख २६ हजार ५३८ रुपैयाँ, जानकी गाउँपालिकामा १५ करोड ४४ लाख ४४ हजार ४४२ रुपैयाँ, डुडुवा गाउँपालिकामा १४ करोड ९७ लाख ५७ हजार १८४ रुपैयाँ र नरैनापुरमा १२ करोड ४६ लाख १६ हजार ९६० रुपैयाँ निकासा भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १५:३५

लोकप्रिय