सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधान अयोग्य

नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेका छन् । बिहान ११ बजे बोलाइएको संसदीय सुनवाइ समितिको बैठक स्थगित गरेर दुवै दलका सांसदहरू आन्तरिक छलफलमा जुटेका थिए । कांग्रेस र एमालेको छुट्टाछुट्टै छलफलपछि संयुक्त बैठक बसेको थियो ।

उक्त संयुक्त बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेको एक सांसदले जानकारी दिए । सुनुवाइ समितिको बैठक साँझ ५ बजे बोलाइएको छ । त्यसबेलासम्म प्रधानले आफ्नो नाम फिर्ता नलिए सुनुवाइ समितिले अनुमोदन नगर्ने निर्णय लिने ती सदस्यले जानकारी दिए ।

यसैबीच निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले नाम फिर्ताका लागि निवेदन दिएका छन् । संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएको बुझिएको छ ।

‘सम्बन्धित व्यक्तिले नाम फिर्ता लिन निवेदन दर्ता गराउनुभएको छ’ सचिवालयका सहसचिव निर्मलादेवी लामिछाने बस्तीले जानकारी दिइन् । प्रधानमाथि एक महिलालाई यौन शोषण गरेको उजुरी संसदीय समितिमा परेको थियो । प्रधानको समितिमा सुनुवाइ सकिइसकेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १५:२२

लोकप्रिय