सूचनाको शक्ति - The Power Of Information

        

चामल र दलहनको भाउ महँगो

पछिल्ला एक महिनाको बिचमा चामल र दलहनको भाउ महँगो भएको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपैयाँसम्म र दलहन प्रतिकेजीमा ९० रुपैयाँसम्म महँगो भएको हो ।

भारत सरकारले चामल र दलहन लगायतका खाद्य वस्तुु नेपालमा निर्यात गर्दा अतिरिक्त भन्सार महसुुल लगायतका कारण पछिल्ला दिनमा नेपालका व्यापारीले आफूखुुसी रूपमा मौज्दात रहेका चामल र दलहनमा समेत मूल्य बढाएर बिक्री गर्दै आएका छन् ।

नेपाल खुुद्रा व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्कीले पछिल्लो एक महिनामा चामल, दहलन, खाने तेल, आटा लगायत सबैको वस्तुुको भाउ महँगो भएको बताए । थोकमा चामल, दाल, गेडागुडी, आटा, चिनी लगायतको भाउ दिनैपिच्छे बढेको भन्दै उनले हिजो बेचिरहेको वस्तुुको मूल्यमा आज ल्याएर बिक्री गर्न सकिने अवस्था नरहेको बताए ।

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार नेपाल खाद्यवस्तुुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुुको भाउ बढेको हुँदा चामल प्रतिबोरा १०० रुपैयाँ बढेर आएको छ । नेपालमा चामल, दलहन चिनी, तेल लगायतका वस्तुु मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्ने बित्तिकै नेपालमा त्यसको असर पर्छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका मिल तथा उद्योगी र खाद्यवस्तुुका थोक व्यापारीले चामल र दलहनको मूल्य बढ्नुको कारणबारे अध्ययन गरिरहेको जनाएको छ । विभागका महानिर्देशक राजन पौडेलले पछिल्लो पटक भारत सरकारले नेपालमा चामल लगायतका खाद्य वस्तुु निर्यात गर्न अतिरिक्त भन्सार महसुुल २० प्रतिशत बढाएसँगै खाद्य वस्तुु चामल, दाल लगायतको भाउ बढेको अनुुगमनका क्रममा पाइएको बताए ।

उनले भने, ‘चामल र दलहनको मूल्य बढ्नुको कारण प्रमाणित हुने बिलसहितको विवरण सक्दो छिटो पेस गर्न भनेका छौँ । नेपालमा चामलको मौज्दात कति छ, कहिलेदेखि मूल्य बढेको हो, त्यो प्रमाण चाहिन्छ । मुखले भारतमा बढेपछि नेपालमा बढ्यो भनेर मात्रै पाइँदैन, त्यसको प्रमाण चाहिन्छ, त्यो प्रमाण व्यापारीसँग मागेका छौँ ।’

नेपालमा हाल चामलको मौज्दातको अवस्था नेपाली उत्पादन लगायतका विषयमा पनि छलफल भएकाले उनीहरूले एक–दुई दिनभित्रै विवरण पेस गर्ने प्रतिबद्धता गरेको पनि उनले जानकारी गराए । छलफलमा सहभागीले पठाएको विवरण हेरेर मात्रै अहिले मूल्यवृद्धि स्वाभाविक वा अस्वाभाविक थाहा हुने, अस्वाभाविक भए त्यस्ता व्यापारीलाई कानुन अनुसार हदैसम्म कारबाही हुने महानिर्देशक पौडेलले थपे ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतले चामल, दलहन लगायतका वस्तुुको निर्यातमा कडाइ गर्दै ती वस्तुुको निर्यातमा २० प्रतिशत अतिरिक्त भन्सार महसुल थपेकाले आमनेपाली उपभोक्ता यसको प्रत्यक्ष मारमा परेको बताए । भारत सरकारले यी वस्तुुको निर्यात नेपाल, श्रीलङ्का, माल्दिभ्समा पनि निर्यात गर्दै आएको भए पनि भन्सार महसुल भने नेपाललाई मात्रै लगाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ०७:२५