सूचनाको शक्ति - The Power Of Information

        

एक वर्षमा २३ अर्ब ६५ करोडको सुन भित्रियो

गत आर्थिक वर्ष २०८०–८१ मा २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालले यो रकमको सुन आयात गरेको हो ।

यसैगरी गत आवमा १० अर्ब ५७ करोड २४ लाख बराबरको कार्पेट र सात अर्ब ९३ करोड ८१ लाख बराबरको अलैंची निर्यात गरेको छ । गत आवमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ ।

गत आवमा एक खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख बराबरको डिजेल, ६८ अर्ब १० करोड २० लाखको पेट्रोल र ५५ अर्ब ६१ करोड ८४ लाख बराबरको एलपी ग्यास आयात भएको छ । ३९ अर्ब तीन करोड ४३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ ।

स्मार्टफोन २८ अर्ब ६६ करोड ६२ लाख बराबरको आयात भएको छ । नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ ।

१५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु आयात गर्दा एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको मात्रै निर्यात गरेको हो । अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ ।

अघिल्लो आव २०७९–८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको आयात र एक खर्ब ५७ अर्ब १४ करोड छ लाख बराबरको निर्यात गर्दा कूल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख पुगेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार १५:५३

लोकप्रिय