२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

पूर्वी नाकाबाट १५ अर्बको चिया, अलैची र अदुवा निर्यात

सत्यपाटी
सत्यपाटी । झापा । २०८१ साउन ८ गते मंगलबार

आर्थिक वर्ष २०८०–०८१ मा पूर्वीनाका काकडभिट्टाबाट १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा काँकडभिट्टाबाट छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए । यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा यही नाका भएर छ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषि वस्तुमध्ये एक हो । आव २०८०–०८१ मा काँकडभिट्टाबाट ५८ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार