अरुले त्यही काम गर्दा सही हुने हामीले गर्दा चाहिँ गलत ? यस्तै प्रस्तुति रह्यो आइतबार रास्वपाका सांसदहरूको । संसदमा उनीहरूले आफ्नो पार्टीको तर्फबाट उपसभामुख भएकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रको बचाउ गर्ने क्रममा आफूहरू पनि पुराना दलहरू भन्दा फरक नभएको अभिव्यक्ति दिएका थिए ।
उपसभामुख इन्दिरा रानामगरले पदीय मर्यादाको उल्लंघन गरेर अमेरिकी दूतावासका लागि लेखेको पत्रले अहिले राजनीतिक वृत्तमा तरंग सिर्जना मात्र गरेको छैन, सांसदहरूले राजीनामा समेत मागेका छन् । सत्ता पक्षका सांसदहरूले मानव तस्करीको आरोप लगाएपछि रास्वपाका सांसदहरुले विषयान्तर गरेर पुराना दलका नेताहरु भ्रष्ट भएको आरोप लगाएका थिए ।
समग्रमा उनीहरूले संसदमा उपसभामुखको बचाउ गर्दै जाँदा सरकारबाट बाहिर रहनुपरेको पीडा र आफूहरुले गर्न चाहेको कामको ब्राण्डिङ गर्न खोजेका थिए । उपसभामुख रानाले पाँच जनालाई अमेरिका लैजाने प्रयोजनस्वरुप अन्तवार्ताको समय आफूसँगै मिलाइदिन लेखेको पत्रले अहिले उनको पद नै धरापमा परेको भए पनि उनले राजीनामा नदिने बताइसकेकी छिन् । शुक्रबार सांसदहरूले सभामुखलाई भेटेर यो विषयमा चासो राखेका थिए ।
शुक्रबार दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी सांंसदहरूले आपत्ति जनाएका थिए । शुक्रबार दिउँसो नै सभामुखले नैतिकताको आधारमा मार्गप्रशस्त गर्न आग्रह गरिसकेपछि उनले विज्ञप्ति निकालेर विषयवस्तुलाई स्पष्ट पार्ने प्रयास गरेकी थिइन् । तर, यसको पनि बचाउ गर्दै रास्वपाले विज्ञप्ति निकालेको थियो । जान्नेलाई छान्ने चुनावी नारा लिएर पुराना दलका नेताहरूलाई गाली गरेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र रहेका नेता कार्यकर्ताहरू बारम्बर विवादमा आउदा ढाकछोप गर्न थालेको छ ।
पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा बचाउ गर्दै आएकोमा उपसभामुखको पत्र प्रकरणमा पनि ढाकछोप गरेको थियो । पार्टीबाट निर्वाचित उपसभामुख राना गम्भीर विवादमा मुछिएपछि रास्वपाले यसबारे औपचारिक धारणा सार्वजनिक गर्दै ढाकछोप गरेको हो । रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएपनि पुराना दलको षडयन्त्र भएको जनाएको थियो । पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको जिकिर रास्वपाको छ ।
‘संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ,’ कावा प्रवक्ता मनिष झाको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ । रास्वपाको छवि धूमिल पार्ने दूषित मनसायबाट छद्म रुपमा गतिविधि भइरहेको भन्दै झाले यस्ता गलत प्रहारहबाट विचलित नहुने बताएका छन् ।
रास्वपाले रानामाथि यो विवाद झिकेर गठबन्धनले चाल गरेको जिकिर गरेको छ । रास्वपाले रानाको विषयमा मात्र होइन अन्य पात्र र प्रवृत्तिको बारेमा पनि ढाकछोप गर्दै आएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा तत्कालीन सांसद डा.ढाकाकुमार श्रेष्ठ मुछिएको मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो र कोर टिम प्रकरण अहिलेसम्म खुलासा हुन सकेको छैन । श्रेष्ठलाई कारवाही गरेपछि लामिछानेको कोर टिममा को को छन् भन्ने बारेमा अहिलेसम्म केही खुलेको छैन ।
रास्वपाका पूर्व महासचिव डा.मुकुल ढकालले दिएको जानकारीअनुसार उपसभामुख रानाको विषयमा बैशाख महिनामै पार्टीका शीर्ष तहमा छलफल भएको थियो । पार्टीभित्र छलफल हुँदा इलाममा उपचुनावको तयारी भइरहेकाले यो विषय भित्रभित्रै सामसुम पारिएको थियो । उपसभामुखले पैसा लिएर अमेरिका लैजान लागेको हो कि पत्रमात्रै लेखिदिएको भन्ने विषय अझै स्पष्ट नभएकाले यो विषयलाई प्रहरी अनुसन्धानमा लैजानुपर्ने आवाज पनि उठेको छ ।
पत्र नै लेखिदिन नमिल्नै संसद् सचिवालयकै अधिकारीहरु बताएका बेला प्रहरी अनुसन्धान आकर्षित हुने सुरक्षाकर्मीहरुको दावी छ । उपसभामुखको विदेश भ्रमणको सम्पूर्ण प्रक्रिया संसद् सचिवालयकै अन्तराष्ट्रिय शाखाले गर्ने हुँदा उपसभामुखले सिफारिसमेत गर्न मिल्दैन । यस विषयमा रास्वपाले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । सत्तारुढ कांग्रेस र एमालेका नेताहरुले भने गम्भीर प्रकृतिको काम भएको हुनाले उपसभामुखले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
कार्यव्यवस्था समितिमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रहेका रामहरी खतिवडाले राजिनामा दिनुपर्ने बताएका थिए । उनले आइतबार संसदमा यही धारणा राखे तर उनीमाथि रास्वपाका सांसदहरु खनिएका थिए । भर्खरै मात्र अमेरिका पुगेर आएकी थिइन । अहिलेसम्म आफूले कसैलाई पनि अमेरिका नपु¥याएको दाबी गरेकी छिन् । विज्ञप्ति जारी गरेर उपसभामुख रानाले सन् २०२३ मार्च महिनामा यूएन सीएसडब्लू सम्मेलनमा जानेहरू कसैको पनि भिसाका लागि अनुरोध नगरेको दाबी गरेकी छिन् । तर उनले भिषाको मिति मिलाई दिन आग्रह गरेको भने स्वीकार गरेकी छिन् ।
उक्त कार्यक्रममा आफ्ना सहयोगी समेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनले बताएकी छिन् । ‘उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागी मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ, कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन,हैन,’ उनले जारी गरेको विज्ञप्तिमा भनेकी छिन् ।
सभामुख इन्दिरा राना गम्भीर विवादमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यसबारे आन्तरिकरूपमा छानबिन थालेको भएपनि बाहिर केही बताएको छैन । रास्वपामा प्रमुख सचेतक सन्तोष परियारले सभामुख देवराज घिमिरेसँग छलफल पनि गरेका थिए । उपसभामुखले आफ्नो ओहदाको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएपछि रास्वपा उनको अवस्थाबारे गम्भीर छलफल भएको थियो । पत्रमा उनले आफूसहित केही अञ्जान व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइदिन सिफारिस गरेकी थिइन् । संसदसँग असम्बन्धित व्यक्तिहरूलाई आफ्नो टीममा राखेर सिफारिस गरिएको पाइएपछि रानामाथि प्रश्न उठेको हो । यद्यपि, ती व्यक्तिहरूले अन्तर्वार्ताको डेट पाउन सकेनन् । उपसभामुख एक्लै अमेरिका गएर फर्केकी थिइन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं