सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशतभन्दा बढी बजेट ‘फ्रिज’

बाँकेमा गत आव २०८०–०८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट ‘फ्रिज’ भएको छ । प्रदेश सरकार अन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको हो । आर्थिक वर्ष २०८०–०८१ मा प्रदेश सरकारबाट बाँकेका लागि कुल तीन अर्ब ६० करोड ९२ लाख ५६ हजार रूपैयाँ बजेट विनियोजन भएकामा ६८ दशमलव ९६ प्रतिशत दुई अर्ब ४८ करोड ८८ लाख १२ हजार ५९० रूपैयाँमात्रै खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार प्रदेश सरकारले पुँजीगत खर्चतर्फ दुई अर्ब २२ करोड ८२ लाख २२ हजार रूपैयाँ विनियोजन गरेकामा ६८ दशमलव ८५ प्रतिशत अर्थात् एक अर्ब ५३ करोड ४१ लाख ७८ हजार ४१४ रूपैयाँ खर्च भएको हो । चालुतर्फ ६९ दशमलव १२ प्रतिशत खर्च अर्थात् विनियोजित बजेट एक अर्ब ३८ करोड १० लाख ३४ हजार रूपैयाँमध्ये ९५ लाख ४६ हजार ३४ हजार १७५ रूपैयाँमात्रै खर्च भएको छ ।

प्रदेश सरकारले गत आव २०८०–०८१ मा अघिल्ला दुई आवको तुलनामा बजेट कम खर्च गरेको हो । आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश सरकारले चालु तर्फ ७५ दशमलव ५१ प्रतिशत, पुँजीगततर्फ ७८ दशमलव शून्य दुई प्रतिशत र कुल बजेटको ७६ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको थियो । त्यस्तै आव २०७९–०८० मा कुल बजेटको ७३ दशमलव ११ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले चालुतर्फ ७१ दशमलव ६२ र पुँजीगततर्फ ७४ दशमलव शून्य आठ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रमुख कोष नियन्त्रक भण्डारीका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा बाँकेमा संघअन्तर्गतका कार्यालयहरूले ८६ दशमलव ६४ प्रतिशत पुँजीगत बजेट खर्च गरेका छन् । यो खर्च प्रतिशत त्यसअघिको दुई आवको तुलनामा बढी हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक भण्डारीले जिल्लामा विगतको तुलनामा पुँजीगत खर्च प्रतिशत बढेको बताए । संघीय कार्यालयतर्फ आर्थिक वर्ष २०७८–०७९ मा ७५ दशमलव ३७ प्रतिशत, आव २०७९–०८० मा ७७ दशमलव १९ र आव २०८०–०८१ मा ८६ दशमलव ६४ प्रतिशत विकास खर्च भएको हो ।

आर्थिक वर्ष २०८०–०८१ मा बाँकेलाई संघीय सरकारले चालु र पुँजीगत गरी कुल १८ अर्ब २४ करोड ७० लाख ९२ हजार ४२६ रूपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये पुँजीगततर्फ छ अर्ब १३ करोड २९ लाख १५ हजार ७१६ रूपैयाँ विनियोजन भएकामा पाँच अर्ब ३१ करोड ३४ लाख ६४ हजार ९६९ रूपैयाँ खर्च भएको हो । त्यस्तै चालुतर्फ १२ अर्ब ११ करोड ४१ लाख ७६ हजार ७१० विनियोजन भएकामा ११ अर्ब ३५ करोड ९८ लाख ३८ हजार ६२१ रूपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले जानकारी दिए ।

अघिल्लो आव २०७९–०८० मा चालुतर्फ १२ अर्ब २० करोड २४ लाख २७ हजार ७३० रूपैयाँ विनियोजन भएकामा ११ अर्ब ५० करोड ४५ लाख ४६ हजार २१९ रूपैयाँ खर्च भयो भने पुँजीगततर्फ आठ अर्ब ४५ करोड ८६ लाख एक हजार ६४२ विनियोजन भएकामा छ अर्ब २१ करोड आठ लाख ७६ हजार ७२८ रूपैयाँ खर्च भएको थियो । बाँकेमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०–०८१ मा राजस्व संकलन वृद्धि भएको छ ।

संघीय सरकार र प्रदेश सरकार मातहत रहेका जिल्लास्थित कार्यालयबाट आर्थिक वर्ष २०८०–०८१ मा अघिल्लो आवको तुलनामा राजस्व संकलन वृद्धि भएको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले जानकारी दिए । उनका अनुसार, संघतर्फ गत आर्थिक वर्ष २०८०–०८१ मा बाँकेमा २५ अर्ब दुई करोड १० लाख १८ हजार ५२० रूपैयाँ राजस्व संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा २४ अर्ब ५९ करोड २६ लाख ६९ हजार १३० रूपैयाँ राजस्व संकलन भएको थियो । प्रदेशतर्फ गत आर्थिक वर्ष २०८०–०८१ मा ९२ करोड तीन लाख ४६ हजार ८४४ रूपैयाँ राजस्व संकलन भएको छ । त्यसअघिको आव २०७९–०८० मा ८३ करोड छ लाख ९२ हजार २२४ रूपैयाँ राजस्व संकलन भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार ०६:२६

लोकप्रिय