सूचनाको शक्ति - The Power Of Information

        

विवादमा उपसभामुख, राजीनामा दिन बढ्यो दबाब

उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् ।

उपसभामुख रानामगरले सन् २०२३ फेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ ।

रानाले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, शुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरुङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराइदिन आग्रह गरेकी छन् । उपसभामुख रानाले व्यक्तिगत रुपमा पत्र लेखेको र संसद् सचिवालयसँग असम्बन्धित व्यक्तिहरूलाई भिसा अन्तर्वार्ताको लागि सिफारिस गरेकोले प्रश्न उठेको हो ।

उपसभामुख समेत रहेकी रानाले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उनको हकमा भिसाका लागि समस्या नहुने भएपनि उनले सिफारिस गरेका व्यक्तिहरू संसद् र संसद् सचिवालयसँग सम्बन्धित नरहेपछि विभिन्न कोणबाट प्रश्न उठेको छ । विभिन्न सञ्चारमाध्यममा उनले आफूले अन्जानबाट सिफारिस गरेको प्रतिक्रिया दिए पनि यस प्रकरणमा उनको यो प्रतिक्रिया पर्याप्त हुने देखिदैन । यो विषय त्यतिबेला नै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि उठेको बताइएको छ ।

सिफारिस गरिएका व्यक्तिले उजुरी गरेको आधारमा पार्टीको उच्च तहमै छलफल भएको र यो विषयलाई आन्तरिक रुपमा नै सामसुम पारिएको देखिएको छ । उपसभामुख रानाले जस्तो दलिल दिए पनि यो विषयले अब राजनीतिक रुप लिने निश्चित भएको छ । सभामुख देवराज घिमिरेले पनि यस बारेमा चासो लिँदै यो गम्भीर विषय भएको बताएका छन् । उपसभामुख संवैधानिक परिषदको सदस्य समेत हुने र उनको यो प्रकरणले देशकै बदनाम गरेको विश्लेषण भइरहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १०:००

लोकप्रिय