सूचनाको शक्ति - The Power Of Information

        

सिमलताल दुर्घटना : ४२ यात्रु र दुई बस अझै बेपत्ता

चितवनको सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा आज एक पुरुषको शव भेटिएको हो । शवको सनाखत हुन बाँकी छ ।

योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ, जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन् । गत असार २८ गते बिहान नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रुबाहक बस बगाएको थियो ।

६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो । अझै ४२ यात्रुको अवस्था अज्ञात छ र बस पनि भेटिएका छैनन् । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका तालिम प्राप्त सुरक्षाकर्मीले विभिन्न प्रविधिको प्रयोग गरेर बसको खोजतलास गरिरहेका छन् ।

वीरगञ्जबाट २७ यात्रुसहित काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट ३८ यात्रु लिएर रौतहटको गौर आउँदै गरेको बा ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता बनाएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार ०८:४२

लोकप्रिय