सूचनाको शक्ति - The Power Of Information

        

पद खुस्किएपछि गृहमन्त्रीबाट ‘आउट’ भएका रवि सिमलतालमा

सत्ता र शक्तिमा हुँदा चुइक्क नबोल्ने नेताहरु सत्ता गुमाएपछि औपचारिकताका लागि जे पनि गर्न तयार हुन्छन् । निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पुरानै दल र नेताहरुको चरित्र देखाएका छन् । गत शुक्रबार भएको बस दुर्घटनाका बेला सरकार विश्वास र अविश्वासको मत पाउन दौडधुप गरिरहेको थियो ।

गृहमन्त्रीको हौसियतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रचण्डको पक्षमा सो दौडधुपमा सामेल थिए । दुर्घटना हुँदा चुइक्क नबोलेको गृह मन्त्रालय र गृहमन्त्रीको हैसियतमा रहेका रवि लामिछाने पद खुस्किएपछि नागरिकको आँखामा छारो हाल्दै समवेदना बटुल्न बस दुर्घटनास्थल सिमलताल पुगेका छन् ।

रवि लामिछानेको नेतृत्वमा रहेको गृह मन्त्रालयले बस दुर्घटनामा मानवीय संवेदनास्वरुप एउटा शोक विज्ञप्तीसम्म जारी गर्न सकेन । अहिले तीनै रवि लामिछाने गृहमन्त्रीबाट खुस्किएपछि सिमलतालमा हराइरहेको बस र यात्रुको खोजी कार्यको निरिक्षण भन्दै मंगलबार बिहान घटनास्थल पुगेर घटनाको विवरण एवं उद्धार कार्यका बारेमा उनले जानकारी लिए ।

सो क्रममा उद्धारकार्यका लागि सुरक्षाकर्मीसँग पर्याप्त दक्षता रहे पनि साधन श्रोत अपुग देखिएको सुरक्षा निकायले जानकारी गराउँदै उनले सिमलतालको अवस्थाका बारेमा वर्तमान गृहमन्त्रीलाई जानकारी गराउने बताए । सिमलताल घटनालाई अप्रत्याशित भएको उल्लेख गर्दै उनले अन्य स्थानमा पूर्वतयारीका कारण यसपटक धनजनका क्षति कम भएको बताए ।

रवि आइतबारमात्र गृहमन्त्रालयबाट बाहिरिएका हुन् । शुक्रबार भएको घटनाबारे गृहमन्त्री हुँदा निरिक्षण नगरेका लामिछाने दुर्घटना भएको झन्डै एक हप्तापछि सिमलताल पुगेका हुन् । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौबाट गौर जाँदै गरेको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको गणपति बसमा गरी ६५ जना यात्रु थिए ।

दुबै बस शुक्रवार बिहान ३ः३० बजेतिर लेदोसहितको पहिरोका कारण त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये अहिलेसम्म १५ जनाको शव भेटिएको छ । मृतकमध्ये आठ जनाको सनाखत भएको छ भने सात जनाको शव अझै सनाखत हुन सकेको छैन ।

भारतको बिहार सीतामढीका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ । यस्तै चितवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुमार माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ । उनीहरुको शव आफन्तले बुझिलगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार १८:१९

लोकप्रिय