सूचनाको शक्ति - The Power Of Information

        

समाजवादी मोर्चा ब्युँताउँदै प्रचण्ड-नेपाल

कांग्रेस गठबन्धनका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई टिकाउन प्रयोग भएको समाजवादी मोर्चा ब्युँताउने तयारी भएको छ । प्रचण्ड सरकारबाट बहिर्गमन भएपछि विपक्षी वाम दलहरुको साझा थलोको रुपमा मोर्चा ब्युँताउने तयारी भएको हो ।

कांग्रेस, एमाले गठबन्धन सरकारविरुद्ध संसद र सडकमा उभिने गरी प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मोर्चालाई सक्रिय गराउने तयारी थालेका छन् । कांग्रेस–एमाले गठबन्धन बनेपछि माओवादी र एकीकृत समाजवादी विपक्षी दलको हैसियतमा रहनेछन् । त्यसपछि मोर्चाले कांगेस एमाले सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्ने नेताहरुको दाबी छ ।

पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमालेसहित करिब दुई तिहाइ गठबन्धन नजिक रहेको बलियो सरकारविरुद्ध मोर्चाबन्दी गर्ने प्रचण्ड र नेपालको तयारी छ । कांग्रेसलाई दबाबमा राख्न, प्रचण्ड सरकार बलियो बनाउन, माओवादी केन्द्र, एकीकृत समाजवादी, तत्कालीन जनता समाजवादी नेपाल र संसद बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा बनेको थियो ।

नेकपा महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द (विप्लव) ले माओवादी, एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि मोर्चाको गतिविधि तीब्र हुने बताए । ‘केही समय यता नेपाली राजनीतिमा उतारचढाव आयो । समाजवादी मोर्चा त्यति सक्रिय भएन,’ उनले भने, ‘प्रमुख दल सरकारबाट बाहिरिएपछि मोर्चाको गतिविधिलाई तीव्रता दिन्छौं ।’

माओवादी र एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि समाजवादी मोर्चा स्वतः सक्रिय हुने माओवादी महासचिव देव गुरुङले बताए । उनकाअनुसार राजनीतिक, वैचारिक र समाजवादी आन्दोलनको रुपमा मोर्चाका गतिविधि केन्द्रित हुनेछन् । ‘यो अब आन्दोलनका रुपमा अघि बढ्छ,’ उनले भने, ‘नेपालमा वाम र समाजवादीबीच ध्रुवीकरण आवश्यक भइसकेको छ । आर्थिक समृद्धिका लागि समाजवादी क्रान्ति अघि बढाउन पनि यस्तो शक्ति चाहिन्छ ।’

मोर्चाको बैठक आज

समाजवादी मोर्चाको बैठक अपराह्न ४ बजे नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने जनाइएको छ । यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार १०:०१

लोकप्रिय