२०८३ मंसिर ३ , बिहीबार 19, November 2026, Thursday

जो पहिलो पटक मन्त्री बने

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा चार दल सहभागी भएका छन् । उनको दल नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भएका हुन् ।

सुरुमा नै २२ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ । त्यसमध्ये १० जना नयाँ अनुहार रहेका छन् । अर्थात् पहिलो पटक मन्त्री बनेका हुन् । सरकारमा सहभागी दलमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसबाट पहिलो पटक मन्त्री बनेका हुन् ।

जसमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी डा.आरजु राणा देउवा पहिलो पटक मन्त्री बनेकी छिन् । उनी परराष्ट्र मन्त्री बनेकी हुन् । त्यस्तै ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् । त्यस्तै कांग्रेसको संस्थापन इतरबाट मन्त्री बनेका चारै जना पहिलो पटक मन्त्री बनेका हुन् ।

संस्थापन इतर अर्थात् शेखर–गगन समूहबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी मन्त्री बनेका हुन् । उनीहरु चारै जना नयाँ अनुहार हुन् ।

यता नेकपा एमालेबाट पनि केही नयाँ अनुहार सरकारमा देखिएका छन् । जसमा रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता रहेका छन् । उनीहरु पनि पहिलो पटक मन्त्री बनेका हुन् । अन्य १२ जना भने पूरानै अनुहार रहेका छन् ।

सरकारमा दुई उपप्रधानमन्त्री बनाइएको छ । जसमा नेपाली कांग्रेसका तर्फबाट उपप्रधान एवं शहरी विकास मन्त्रीमा प्रकाशमान सिंह र एमालेका विष्णु पौडेल उपप्रधान एवं अर्थमन्त्री बनेका छन् । नवनियुक्त प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित मन्त्रीहरुले समेत शपथग्रहण गरिसकेका छन् ।

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमबार