नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नवनियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि समय दिएका थिए ।
को-को बन्दैछन् मन्त्री ?
सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेस दुवैले मन्त्रीहरूको नाम लगभग टुंगो लगाएका छन् । कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा ९ जनालाई सरकारमा पठाउने निर्णय गरेको छ भने तत्काल एमालेले ६ जना मन्त्रीको नाम टुंगो लगाएको छ ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले आज बिहान ११ बजे राष्ट्रपतिबाट शपथ लिँदैछन् । त्यसलगत्तै उनले मन्त्रीहरूलाई शपथ खुवाउने तयारी छ । कांग्रेसबाट प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्नेछन् भने उनले उपप्रधान तथा ऊर्जा वा रक्षा मन्त्रालय सम्हाल्ने सम्भावना रहेको छ ।
गृहमा रमेश लेखक र परराष्ट्रमा आरजु देउवाको नाम लगभग पक्का भएको छ । यस्तै कांग्रेसले सरकारमा पठाउने मन्त्रीहरूमा प्रदीप पौडेल, किशोरसिंह राठौर, अजय चौरसिया, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम रहेको छ । यस्तै एमालेले भागबण्डामा ८ मन्त्रालय पाएकोमा ६ जनाको नाम टुंगाएको छ ।
स्रोतका अनुसार विष्णु पौडेल अर्थ र योगेश भट्टराई सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने लगभग पक्का भएको छ । यस्तै पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ र विद्या भट्टराईलाई मन्त्री बनाउने तयारी एमालेले गरेको छ । मन्त्रीहरूमा गोकुल बास्कोटा, जुली महतो र दामोदर भण्डारीको नाम पनि चर्चामा रहेकोमा उनीहरूमध्ये कसलाई मन्त्री बनाउने भन्ने पक्का भने भइनसकेको स्रोतले जनाएको छ ।
