सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसको रणनीति, ‘नयाँ सरकारमा नयाँ अनुहार’

नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा नयाँ सरकार गठन हुने भएपछि मन्त्री मण्डलका बारेमा पनि अनेकन् अड्कलबाजी गर्न थालिएका छ । भोली शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने तयारी गरेका छन् । एक रातमा कुनै नयाँ उथलपुथल भएन भने प्रधानमन्त्रीले विश्वासको मत पाउने छैनन् ।

मिलेर सरकार बनाउने भएपछि कांग्रेसमा सरकारमा को जाने भन्ने विषयले ठाउँ पाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने भएकालेल कांग्रेस सभापति शेरबहादुर देउवा बाहेक सबै सरकारमा जान सक्नेछन् । तर, देउवाले यसपटक गुटभन्दा माथि उठेर मन्त्रीहरु सरकारमा पठाउने भन्ने विषय पनि उत्तिकै चर्चामा रहेको छ ।

कांग्रेसमा पुरानालाई रोकेर नयाँ अनुहार सरकारमा पठाउ उपप्रधानमन्त्री नराख्ने विषयमा पनि शीर्ष दुई नेताबीच छलफल भएको बुझिएको छ । पुराना अनुसार नदोहोरिने भएपछि कांग्रेस महामन्त्री गगन कुमार थापा यसपटक मन्त्रीमा देखिने छैनन् । बरु विश्वप्रकाश शर्माले अवसर पाउने छन् ।

‘मन्त्री हुन आकांक्षी धेरै देखिएका छन् त्यो स्वाभाविक पनि हो । तर, अधिकांश नयाँ पठाउने भन्ने कुरामा भएको छ । यसभन्दा अघिको क्याबिनेटबाट निस्केकाहरू यो पटक पर्दैनन्,’ नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने । उनले मन्त्रीको आकांक्षी धेरै भएकाले अहिले नै को मन्त्री हुन्छन् भन्ने सक्ने अवस्था नरहेको बताए ।

पार्टीभित्र धेरै विवाद नल्याउने गरी सबैलाई समेटेर मन्त्री पठाउने मुडमा सभापति देखिएको नेताहरुको बुझाइ छ । दुई–तीन चोटी चुनाव जितेर अवसर नपाएकाहरुलाई सभापतिले यो पटक अवसर दिने तयारी गरेको नेताहरु बताउँछन् । उपप्रधानमन्त्री नराख्ने सहमति भए कांग्रेसबाट गृहमन्त्रालय लिएर प्रमुख सचेतकसमेत रहेका रमेश लेखकको सम्भावना बलियो छ ।

उपप्रधान पाए प्रकाशमान सिंह, शशांक कोइरालाले पनि सरकारमा जाने इच्छा व्यक्त गरिरहेका छन् । कांग्रेस वृत्तमा महामन्त्री गगन थापाको नेतृत्वमा सरकार जाने चर्चा चले पनि थापा आफैंले विश्वप्रकाश शर्मा वा प्रदीप पौडेललाई मन्त्री बनाउन देउवासमक्ष सिफारिस गर्दैछन् । कांग्रेसबाट डा.आरजु राणा देउवा यसपटक सरकारमा जाने सम्भावना छ ।

त्यस्तै उदयशमशेर जबरा पनि प्रमुख दाबेदार हुन् । यीबाहेक संस्थापनबाट विनोद चौधरी, किशोरसिंह राठोर, शंकर भण्डारी, रामहरि खतिवडा, अजय चौरसिया, श्याम घिमिरेलगायतको लबिङ बलियो छ । शेखर–गगन पक्षबाट अर्जुननरसिंह केसी, जीवन परियार, बद्री पाण्डे, चन्द्र भण्डारी, राजेन्द्र बजगाईँ, हृदयराम थानी, सरिता प्रसाईं, मुक्ताकुमारी यादवमध्येबाट मन्त्रीको लिष्टमा छन् ।

शशांक कोइराला सरकारमा नगएको अवस्थामा उनको कोटाबाट मन्त्री बन्न दीपक गिरी र दीपक खड्का दाबेदार छन् । एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको छ । मन्त्रायल भागबण्डामा दुई दलबीच धेरै विवाद नरहेको नेताहरुको दाबी छ ।

गृह र परराष्ट्र कांग्रेसले लिने र अर्थ र सञ्चार एमालेले लिने सहमति भइसकेको नेताहरु दाबी गर्छन् । मन्त्रालय टुंग्याउन रमेश लेखक र शंकर पोखरेलले जिम्मेवारी लिएका छन् । भौतिक पूर्वाधार र ऊर्जा एउटा पार्टीले लिए, शहरी विकास र स्वास्थ्यमा अर्को पार्टीले लिने गरी छलफल भइरहेको नेताहरुको भनाइ छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १६:१०

लोकप्रिय