कुनैबेला टेलिभिजन प्रस्तोता रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विशेषता भनेकै बढी बोल्ने हो । बोलेर नथाक्ने लामिछानेको अहिले मुख बन्द भएको छ । राजनीतिक दलका नेताहरूलाई तुच्छ शब्द प्रयोग गरेर होच्याउने लामिछाने अहिले आफू र पार्टीको बारेमा तयार पारेको प्रतिवेदनलाई समेत पढ्न नदिई मुखमा टेप लगाइदिएका छन् । सैद्धान्तिक आधार विना दुई वर्ष अगाडि जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र स्वतन्त्रता खोज्ने र बोल्नेको मुखमा टेप टाँसेर बस्नुपर्ने अवस्था बनेको छ ।
इलामको उपनिर्वाचनपछि देशव्यापी रुपमा समीक्षा यात्रामा निस्केका महामन्त्री डा.मुकुल ढकालले तयार पारेको प्रतिवेदन नै प्रतिबन्धमा परेको छ । हाल कारबाहीमा परेका महामन्त्री ढकालले तयार पारेको विवादास्पद प्रतिवेदन ‘समीक्षा यात्रा–फोक्सुन्डो’ सार्वजनिक भएपछि रास्वपा धरातल, जनतामा रास्वपाप्रति हेर्ने दृष्टिकोण समेत स्पष्ट रूपले बाहिर आएको छ । केन्द्रीय समिति बैठकमा प्रतिवेदन प्रस्तुत भएपछि सभापति लामिछानेले प्रवक्ता मनिष झामार्फत उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।
लामिछानेमाथि सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतले समेत प्रश्न उठाएका बेला यो प्रतिवेदन बाहिरिँदा लामिछाने नैतिक संकट परेका छन् । ‘हुनतः लामिछानेलाई नैतिकताको प्रश्न गर्नु र गोरु नांगै छ भन्नु उस्तै हो’, रास्वपाकै एक नेताको टिप्पणी छ । उनका अगाडी कोही कसैले बोल्न आँट नै गर्दैनन् । पार्टी नै आफ्ना कारणले बनेको र रास्वपलाई आएको मत सबै आफ्नै कारणले आएको घमण्डमा रहेका कारण पनि उनी पार्टीभित्र चरम विवादमा पर्दै आएका छन् । तर पनि ढकालले प्रतिवेदनमार्फत उनीविरुद्ध शालीन विद्रोहको आँट गरेका छन् ।
केन्द्रीय समिति बैठकले ढकालले तयार पारेको समीक्षा यात्रा प्रतिवेदनलाई अस्वीकृत गरिदिएको थियो । सोही प्रतिवेदनकै कारण ढकालले महामन्त्री र प्रवक्ता पद गुमाएका छन् । यसै साता (बुधबार) केन्द्रीय समितिको बैठकले सात दिनका लागि उनलाई निलम्बन गर्ने भएको छ । ढकालले प्रतिवेदन बुझाउँदा सार्वजनिक हुनुपर्ने सर्त सभापति लामिछानेसमक्ष राखेका थिए । नत्र आफूमाथि ‘अन्याय’ हुने भन्दै दबाबसमेत बढाएका थिए ।
यही कारण सार्वजनिक रूपमा आउन सक्ने सम्भावित टीकाटिप्पणीलाई हेरेर रास्वपाले सो प्रतिवेदन सार्वजनिक गरेको स्रोत बताउँछ । इलामको उपनिर्वाचनमा लज्जास्पद पराजयपछि रास्वपाको सचिवालय बैठकले ढकाललाई असार ६ गतेबाट ‘समीक्षा यात्रा’मा पठाएको थियो । केन्द्रीय कार्यालय घन्टीघरमा सभापति लामिछानेले दही खुवाएर हातमा घण्टी थमाउँदै उनलाई बिदाइ गरेका थिए । त्यसपछि एक महिना लामो यात्रामा ३८ जिल्ला घुमेर ढकाल असार ५ गते काठमाडौँ फर्किएका थिए ।
यस यात्रामा ढकालले ल्याएको सन्देशले रास्वपाभित्र ठूलै कम्पन पैदा गरेको छ । जसले रास्वपाभित्रको विवाद सतहमा आएको त छ नै, स्वयं ढकाल पार्टीबाट निष्कासन हुने स्थितिमा पुगेका छन् । सार्वजनिक भएको प्रतिवेदनमा ढकालले जनतासँगको कुराकानी गरेका प्रतिक्रियालाई जस्ताको तस्तै उल्लेख गरेको दाबी गर्दै आएका छन् । त्यसमा सभापति लामिछानेमाथि पहिलोपटक नैतिक प्रश्न उठेको छ । ‘थाहा छैन’को उत्तर थाहा छैन ढकालको प्रतिवेदनमा सामाजिक सञ्जालमा सभापति लामिछानेलाई जोडेर ‘थाहा छैन’ भन्ने वाक्य ‘ट्रोल’ भइरहेको कुरा उठाएका छन् ।
‘संसारका सबै मानिसलाई सबै कुरा थाहा नहुन सक्छ । थाहा नभएको कुरा थाहा छैन नै भन्ने हो, थाहा छैन भने जबरजस्ती थाहा छ भन् भनेर कानुनले पनि भन्दैन,’ प्रतिवेदनमा भनिएको छ, ‘कानुनले थाहा भए पनि थाहा नभए पनि कानुन उल्लङ्घन गरेको छ भने बराबर सजाय दिन्छ ।’ तर पार्टीभित्र भने यो रोग फैलन सुरु गरेको प्रतिवेदनमा उल्लेख छ । गल्ती गर्ने र ‘ए मलाई त थाहै थिएन’ भन्ने प्रवृत्तिको सङ्क्रामक बनेको लेखिएको छ । ‘पार्टी सञ्चालनका लागि थाहा एउटा प्रश्न बनेर आउन थाल्यो । मान्छेलाई केसम्म थाहा हुनुपर्छ ? के थाहा नभएको सम्म ठीक हो र के थाहा नभएको सम्म गलत हो ? यी प्रश्नहरूको उत्तर के हो, मलाई थाहा छैन,’ ढकालले प्रतिवेदनमा लेखेका छन् ।
ढकालको प्रतिवेदनमा सभापति लामिछानेलाई पहिलो पटक प्रश्न उठेको प्रसङ्ग पनि उल्लेख छ । त्यस्ता प्रश्नमा ‘चेसमा रानी धेरै चल्दैन तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउतजस्तो ब्याकमा किन नबसेको ?’ लगायत समावेश छन् । यस्तै जिबी राई कहिले समातिन्छन् ? भन्ने प्रश्न आएको उल्लेख गर्दै ‘समात्न सकिँदैनथ्यो भने भने प्रतिपक्षमा हुँदा किन म्याद नै तोकेर बोलेको ?’ भन्ने प्रश्न प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै सभापति लामिछानेसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो रहेको, सचिवालयमा सभापति मृदुभाषी नभएको, यही सचिवालयबाट अघि बढे सभापतिबाट राजनीति सम्भव नभएकोसम्मका कुरा अटाएका छन् ।
यस्तै ग्यालेक्सी टिभीको टिम पार्टीमा धेरै भएको, सभापतिले विश्वासको दायरा बढाउन नसकेको, सरकारमा गएपछि सोचेअनुरूप फाइल किन नखोलिएको जस्ता प्रश्न पनि प्रतिवेदनमा उल्लेख गरिएका छन् । ‘निर्मला पन्तलाई न्याय कहिले मिल्छ ?’, ‘ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ?’ जस्ता प्रश्न पनि उठेको प्रतिवेदनमा उल्लेख छ । ढकालले प्रतिवेदनमा ‘जुन जनाधारबाट उदाएको हो त्यसैको उपेक्षा’ गरेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । यस्तै ३३ वर्षको कुशासनको कारण रवि लामिछानेमाथि थुपार्ने प्रयास भइरहेको पनि उल्लेख गरेका छन् ।
‘तर यसमा हाम्रा पनि कमजोरी छन् । लोकतान्त्रिक पार्टीमा विधान बोल्नुपर्छ तर बोलेन । जुन जनाधारबाट हामी उदायौँ, त्यसैलाई उपेक्षा गर्यौं, जुन जोस र जाँगरका साथ यो यात्रा सुरु गरेका थियौँ, त्यो अब रहेन । हामी को हौँ र हामी किन आएका हौँ, स्पष्ट पार्न सकेनौँ’, प्रतिवेदनमा भनिएको छ । पहिला पार्टीसँग ‘राष्ट्रिय असन्तुष्टि’सँगै ‘राष्ट्रिय आशा’ पनि रहेको उल्लेख गर्दै अहिले ‘आशा मर्दै जाँदा असन्तुष्टि मात्र बाँकी’ रहेकोसम्म भनिएको छ । ‘काम कम, बोली धेरै भयो’ ढकालको प्रतिवेदनमा भनिएको छ । यस्तै गर्न सकिने काम हो वा गर्न नसकिने काम, मूल्याङ्कन नै नगरी नेताहरूले बोलेको गुनासो जनताबाट आएको पनि भनिएको छ ।
‘पार्टीका नेताहरूले नै बोलेका कुरा कति पूरा हुन्छन् ? जनताले हेरिरहेका छन् र जनमूल्याङ्कनमा हामी असफल भएका छौँ,’ प्रतिवेदनमा उल्लेख छ । विशेषतः सभापति लामिछानेको ‘बोलीमा लगाम लगाउनुपर्ने र काम भइसकेपछि मात्र बोल्ने बानी विकास गर्नुपर्ने’ सुझावहरू आएको प्रतिवेदनमा उल्लेख छ । जिबी राईका सन्दर्भमा बोलिएका बोली पार्टीका लागि सबैभन्दा ठुलो चुनौती भएको प्रतिवेदनमा उल्लेख गर्दै भनिएको छ, ‘तयारी र गुदीबिना आश्वासनका पुलिन्दा मात्र बाँड्दा तत्काल ताली त पाइयो होला तर यसले पार्टीलाई क्षति मात्र गर्यो ।’ आउने चुनावमा ती बोलीका ‘क्लिप्स’हरू चुनौती बन्नेसमेत आँकलन गरिएको छ ।
‘ती क्लिप्सहरू जताततै बजाइने हुँदा त्यसले पार्ने असरका बारेमा अहिलेबाट सजग हुनुपर्छ । बोल्न मात्र बोल्ने प्रवृत्तिले पार्टीलाई हानिबाहेक केही पनि गरेन,’ प्रतिवेदनमा भनिएको छ । पार्टीभित्र सामन्तवाद रहेको समेत प्रतिवेदनमा उल्लेख छ । पार्टी कामभन्दा बढी आसन र भाषणमा केन्द्रित भएको भन्दै केन्द्रबाटै शुद्धीकरणको कुरा ढकालले उठाएका छन् । ‘आसनग्रहणमा सांसदलाई ‘माननीय नभनौँ भन्दा सामन्ती प्रथाको निरन्तरता स्वयं सभापतिबाट देखियो’ भन्ने वाक्यांश पनि प्रतिवेदनमा छ । यस्तै ‘रातो पासपोर्टधारीमध्ये केही भोलि यो पार्टी यस्तै रहेछ भनेर अमेरिकातिर नै भासिए भने अचम्म नमान्ने स्थिति बनेको’ समेत प्रतिवेदनमा उल्लेख छ ।
पार्टीप्रति र देशप्रति माया नदेखिएको र रास्वपा अवसरवादीहरूको झुन्ड भइसकेको समेत उल्लेख छ । ढकालले प्रतिवेदनमा पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नै नरहेको विषय पनि उल्लेख गरेका छन् । ‘पैसा भएका मान्छे मात्र पार्टीमा आकर्षित भइरहेका छन् । गरिबहरूले राजनीति गर्ने होइन, अलिकति कमाइ छैन भने राजनीतिमा किन लाग्नुप¥यो भन्ने भनाइ पार्टीको उपल्लो तहको नेतृत्वबाट नै सुनियो,’ प्रतिवेदनमा भनिएको छ, ‘पार्टीलाई एलिट वर्गको पार्टीका रूपमा मात्र स्थापित गराउन यी भनाइहरूले काम गरेका छन् । वास्तवमा आज पार्टी एलिट वर्गको कब्जामा गइसक्यो ।’
यस्तै, ढकालले प्रतिवेदनमा पार्टी एनजिओजस्तो भएको पनि टिप्पणी गरेका छन् । पार्टीमा राजनीतिक संस्कार, बुझाइमा अत्यन्त कमी देखिएको उल्लेख गर्दै विभिन्न विचारबाट आएकाहरू भएकाले प्रत्येक विषयमा अल्पमत र बहुमत के हुन सक्छ भनेर निर्णय गर्दा पार्टीको मूल विचार नै छायामा परेको उल्लेख छ । ‘एउटा एनजिओजसरी चल्न खोज्दा त्यसले पार्टीका कदमहरू राजनीतिक देखिन सकेन । पार्टी तटस्थवाद, यथास्थितिवाद र तदर्थवादमा फसेको छ,’ प्रतिवेदनमा भनिएको छ । ढकालको प्रतिवेदनमा संगठनभित्र अरूलाई गाली मात्र गर्ने प्रवृत्ति देखिएको र आफ्नो भिजन तथा योजना देखाउन नसकिएको, सस्तो लोकप्रियतालाई प्राथमिकता दिइएको, निषेधको राजनीति मौलाएको जसका लागि अनुशासन आयोगलाई पनि प्रयोग गरिएकोजस्ता विषय पनि उठाइएका छन् ।
यस्तै, प्रतिस्पर्धी भावना र खुट्टा तानातान प्रवृत्ति देखिएको, पार्टीभन्दा व्यक्तिलाई बलियो बनाउने गरी दौडधुप भएको, फोटो खिचेर ठुलो मान्छे भइन्छ भन्ने प्रवृत्ति देखिएकोजस्ता विषय पनि प्रतिवेदनमा छन् । ढकालको प्रतिवेदनमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सहकार्य भएको खुलासा गरेका छन् । ‘मंसिरको चुनावका बेला गगन थापाका विरूद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौँ, त्यसले आज हामीलाई चोट पुर्याएको छ ।’
प्रतिवेदनमा भनिएको छ, ‘हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा दुई सिट नाफा हुन पुग्यो ।’ गगनसँगको सहकार्यले न तात्कालिक फाइदा दियो न अहिले फाइदा भयो भनेर टिप्पणी पनि गरिएको छ । ‘गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा भनिएको छ । ढकालको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिल्नुभन्दा काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहसँग मिल्नुपर्नेमा जोड दिइएको छ ।
‘बालेन, गोपी हमाल र हामी मिल्ने हो भने २०८४ मा स्पष्ट बहुमत मिल्ने संकेत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘आजका दिनमा ओली र प्रचण्ड (दाहाल) सँग सम्झौता गर्नुको साटो बालेनसँगको सहकार्यलाई प्राथमिकता दिनु हितकर छ ।’ ढकालको प्रतिवेदनमा रास्वपा अहिलेकै अवस्थामा आम चुनाव भए एक–दुई सिटमा खुम्चिनेसम्मको टिप्पणी छ । ‘आज पार्टीको वर्तमानमा जनमत छैन । जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक–दुई सिट जित्ला,’ प्रतिवेदनमा भनिएको छ, ‘भोलिका दिनहरू आजकै स्थितिअनुसार अघि बढे पार्टीको हालत विवेकशीलसरि हुनेछ ।’
गल्फ्रेण्डको चर्चा ट्ठ विवाह अब कसले गरिदिने ?
कारबाहीमा परेका महामन्त्री डा.ढकालले आफूमाथि पार्टीबाट ह्यारेसमेन्ट भएको बताएका छन् । केन्द्रीय समिति बैठकपछि निस्कने क्रममा ढकालले यस्तो प्रतिक्रिया दिएका थिए । खासगरी उनले पुरक प्रतिवेदन पनि पेश गरेका थिए । त्यहाँ गुरुआमा र गल्फ्रेण्डको चर्चा गर्दै आफ्नो विहे पार्टीले गरिदिने हो कि कसले गरिदिने हो भन्दै त्यसको निर्क्योल समेत गर्न पार्टीलाई आग्रह गरेका थिए । ‘उहाँहरूले मलाई ह्यारेसमेन्ट गर्नुभयो । दुईजना उपसभापतिले आजदेखि महामन्त्री मान्दैनौँ भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीको रूपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाइँदैन,’ उनले बाहिर आएर भनेका थिए ।
गोरखा मिडियाबाट भएको सहकारी ठगीमा जीबी राई मात्रै दोषी हो भन्नेले पार्टीमा महामन्त्रीको मात्र गल्ती देखाएको उनको गुनासो छ । उनले भनेका थिए ‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदै छ । उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो । त्यहाँ चाहिँ अध्यक्ष जीबी राईको सबै गल्ती भन्नुहुन्छ । पार्टी चाहिँ महामन्त्रीको सबै गल्ती देखाउनुहुन्छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ती गर्दैन भनेजस्तो भयो ।’ केन्द्रीय समिति बैठकमा राख्न नपाएको लिखत धारणको ८ नम्बरको १ र २ बुँदामा महामन्त्री ढकालले गुरुआमा र गर्लफ्रेन्डको प्रसङ्ग उल्लेख गरेका हुन् । समानुपातिक सांसद छनोट पार्टीको विधि विपरीत भएको भन्दै रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री ढकाललाई लक्षित गर्दै श्रीमतीका साटो गर्लफ्रेन्डलाई सांसद बनाइएको बताएका थिए ।
त्यसका जवाफमा ढकालले समानुपातिक सूचीको २ र १२ नम्बरमा सिफारिस भएकालाई सांसद बनाउँदा १५ नम्बरमा रहेका (गणेश कार्की) छुटेको बताएका छन् । आफूले गुरुआमाका रुपमा मानेको व्यक्तित्वलाई सांसद बनाउँदा नातावादको आरोप लगाएको महामन्त्री ढकालको गुनासो थियो । चार दशक स्वास्थ्य क्षेत्रमा काम गरेकी व्यक्तिलाई छान्ने नीतिअनुसार सांसद बनाइएको उनको लिखित धारणामा उल्लेख छ । यस्तै आफ्नो प्रेम सम्बन्ध र उसैलाई सांसद बनाएको विषयलाई लिएर पनि प्रश्न उठेको भन्दै महामन्त्री ढकालले व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताएका छन् ।
‘मैले बिहे गर्ने कि नगर्ने ? कुमार नै बस्ने कि केन्द्रीय समितिले निर्णय गरिदेओस्’ मुकुलले लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग (बिहे) गर भन्छ भने पनि तयार छु वा आफ्नो इच्छामा गर भन्छ भने पनि ठिक छ ।’ विवाह बाहेक पनि आफ्नो जीवनको सबै कुरा पार्टीले धारणा बनाइदिन पनि स्वीकार्य हुने उनले बताएका छन् । ‘देश छाडेर जा, देशको हित हुन्छ भने पनि गइदिन्छु’ महामन्त्री ढकालले लिखित धारणामा उल्लेख गरेका छन्, ‘राजनीति छोड्, देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठिक हुन्छ, मैले के गर्दा ठिक हुन्छ, तपाईँहरू भनिदिनुस् ।’
सत्यपाटी संवाददाता । काठमाडौं