सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसबाट गगनलाई सरकारको जिम्मा, आरजु परराष्ट्रमन्त्री

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसबाट सरकारको नेतृत्व गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयां सरकारमा कांग्रेसबाट थापाले नेतृत्व गर्ने लगभग टुंगो लागेको हो । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि थापाले सरकारमा जाने निर्णय लिएको स्रोतले बतायो ।

थापाको सोमबार एमाले अध्यक्ष ओलीसंग समेत छलफल भएको थियो । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा थापा स्वास्थ्य वा उर्जामध्ये एक मन्त्रालय लिएर सरकारमा जाने निश्चित भएको उनि निकट स्रोतले बतायो । उनी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट आरजु देउवा राणा परराष्ट्रमन्त्री बन्ने भएकी छन् ।

एमाले अध्यक्ष ओलीले सरकारमा प्रभावशाली र क्षमता भएका नेताहरुलाई सामेल गर्न चाहेका छन् । उनले सरकारलाई प्रभावकारी बनाउनको लागि समेत काम गर्न सक्ने नेताहरुलाई मन्त्री बनाउन चाहेको उनि निकट स्रोतले बतायो । सरकारमा जान बांसवारी प्रकरणमा मुद्दा चलिरहेका सांसद विनोद चौधरीसमेत दौडमा छन् ।

उनीमाथिको मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अहिले पनि अनुसन्धान गरिरहेको छ । तर, मुद्दाको टुंगो नलाग्दै चौधरी मन्त्री बन्ने दौडमा छन् । चौधरीले शहरी वा उद्योगमा जान रुची देखाएको स्रोतको दावी छ । कांग्रेसभित्र देउवा र चौधरी दुवैलाई सरकारमा पठाउँदा सरकारमाथि चौतर्फी आक्रमण हुने भन्दै त्यसो नगर्न पार्टी नेतृत्वलाई दबाव छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरु गरेदेखि चौधरी केही समय भारतमा गएर समेत बसेका थिए । तर, पछिल्लो समय चौधरीले आफ्नो निजी निवासमा नेता, उच्च पदस्थ कर्मचारी र चिनियाँदेखि श्रीलंकन दूतावासका प्रनिधितिहरुसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार ११:३४

लोकप्रिय