सूचनाको शक्ति - The Power Of Information

        

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी एमाले बाहिरिएको छ । उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी सबै पाँच जनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पेस गरेका छन् ।

एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनमा दिएका हुन् ।

केन्द्रमा नेपाली कांग्रेस र एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो । एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । ११० सदस्यीय बागमती प्रदेशमा एमालेको सबैभन्दा बढी ३७ सिट छ भने कांग्रेसको २७ सिट छ ।

त्यस्तै माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ । केन्द्रमा कांग्रेस–एमालेको नयाँ गठबन्धन बनाउने सहमतिपछि त्यसको असर प्रदेशमा देखिन शुरु भएको छ । जसअनुसार एमालेले लुम्बिनी र सुदूरपश्चिम सरकार छोडिसकेको छ ।

एमालेले मुख्यमन्त्रीको राजीनामा पनि माग गरेको छ । बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले दाबी गरेको छ । कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्रीका दाबेदार छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार १२:०६

लोकप्रिय