सूचनाको शक्ति - The Power Of Information

        

प्रतिपक्षको बेन्चमा एमाले, माग्यो प्रधानमन्त्रीको राजीनामा

नेकपा एमाले प्रतिनिधिसभामा प्रतिपक्षको बेन्चमा पुगेको छ । एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक प्रतिपक्षीको बेन्चमा बसेको हो । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तापक्षभन्दा प्रतिपक्षीतर्फ सांसदहरूको संख्या धेरै देखिएको छ । प्रतिपक्षमा पुगेको एमालेले संसदबाटै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासमेत मागेको छ ।

नेकपा एमालेका सांसद रघुजी पन्तले भने, ‘लोकतन्त्रको सौन्दर्य भनेको त्यसको एउटा नैतिक पक्ष हुन्छ, नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन । अहिले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुहोस् ।’ प्रचण्डकै कारण नयाँ गठबन्धन बनेको उनको भनाइ थियो । प्रचण्डले संविधान पनि उल्लंघन गर्न थालेको उनको भनाइ थियो ।

‘गएको जनवरीमा भारत गएर सन्धि गरेर आउनुभयो । नेपालको ऐनअनुसार १ महिनामा त्यो सन्धि संसदमा ल्याउनुपर्ने, अहिलेसम्म ल्याउनुभएको छैन,’ उनले भने, ‘यसरी संविधानको उल्लंघन गर्नुभएको छ । अहिले अल्पमतमा परिसकेपछि पनि संविधानको धारा ७६ को २ मा जान्छ कि ३ मा जान्छ त्यो राष्ट्रपतिज्यूको चिन्ताको विषय हो । उहाँको काम बहुमत नभएपछि तत्काल राजीनामा गरेर बाटो फुकाउने हो ।’

प्रकाशित मिति : २३ असार २०८१, आइतवार १३:४१

लोकप्रिय