नयाँ राजनीतिक समीकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेपछि नयाँ सरकार गठन प्रक्रियाबारे अन्योल देखिएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको सहमतिमा हस्ताक्षर भएसँगै प्रधानमन्त्री प्रचण्डले असार २८ गते सदनमा विश्वासको मत लिने निर्णय गरेका छन् ।
वर्तमान सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले पनि राजीनामा दिइसकेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारबाट बाहिरिएको छ ।
राजनीतिक रूपले अल्पमतमा परिसक्नु भएका प्रधानमन्त्री प्रचण्डलाई सदनमा विश्वासको मत सिद्ध गर्न १३८ सांसद आवश्यक पर्ने भए पनि समर्थनमा अहिले ६३ जना सांसद मात्र रहेका छन् । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भए पनि नयाँ सरकार संविधानको धारा ७६ (२) वा धारा ७६ (३) अनुसार गठन हुने भन्नेमा अन्योल छ ।
नयाँ सरकार गठनको अन्योलबीच संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन प्रक्रिया पूरा गरे पनि नेपालको संविधानको धारा ७६(२) बमोजिम नै नयाँ सरकार गठन हुने जिकिर गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले अब संविधानको धारा ७६ (२) बमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठन हुने बताए ।
बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको समेत जानकारी दिँदै लेखकले भने, ‘अहिलेको विश्वासको मतको प्रस्ताव धारा १०० बमेजिम हुने भएकाले संवैधानिक रूपमा उपधारा २ बमोजिमकै सरकार गठन गर्न कुनै बाधा छैन । राजनीतिक रूपमा कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वाभाविक रूपमा अहिलेको सरकारका विपक्षमा दुईतिहाइ भन्दा बढी मत जुटेको छ ।
‘नयाँ बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष ओली र दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति देउवाले नेतृत्व गर्ने सहमतिलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गर्ने बैठकको निर्णय रहेको उल्लेख गर्दै प्रमुख सचेतक लेखकले भने, ‘नेपाली कांग्रेस र नेकपा एमालेबीच यही असारको १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सहमति भएको छ । आजको संसदीय दलको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन गरेको छ र स्वागत गरेको छ ।’
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिँदै बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको हुँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव कार्यसूचीमा समावेश गर्न माग गर्नुभएकोमा यो बैठक उक्त प्रस्ताव निर्णयार्थ पेश हुँदा प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दछ ।’
बैठकले कांग्रेस र एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गर्दै समर्थन गर्ने निर्णय गरेको छ । राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण, विकास निर्माणलाई तीव्रता, राजनीतिक स्थिरता, संविधान संशोधन र अर्थतन्त्र बलियो पार्ने उद्देश्यका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको कांग्रेसको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं