सूचनाको शक्ति - The Power Of Information

        

मधेस प्रदेशका आधा दर्जन मन्त्री एकाएक बर्खास्त

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका चार दलका ६ जना मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् । नेकपा एमाले–नेपाली काँग्रेससँग भएको सहमतिअनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गरेका हुन् ।

अर्थमन्त्री भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने, ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री बेची लुङ्गेली, गृह तथा सञ्चारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरीलाई मुख्यमन्त्री सिंहले बर्खास्त गरेका छन् । ६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

आजै काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेस सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी समेत रहेको छ । मुख्यमन्त्री सिंहले राष्ट्रिय समीकरणअनुसार सबै प्रदेशमा परिवर्तन हुने अवस्था रहेको र मधेस प्रदेशमा आजै विश्वासको मत लिने भएकाले नयाँ समीकरणका हिसाबले प्रदेश सरकार गठन भएको बताए । उनले प्राविधिक समस्या भएकाले राजीनामा नदिईकन बसेकाले बर्खास्त गर्नुपरेको बताए । उनले कुनैपनि मन्त्रीले असहयोग नगरेको पनि बताए । मुख्यमन्त्री सिंहले मन्त्रीहरूकै सहमतिमा बर्खास्त गरिएको बताए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार १४:०९

लोकप्रिय