सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीले २८ असारमा विश्वासको मत माग्ने, कति आउँला मत ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिने भएका छन् । असार २८ गते (शुक्रबार) प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जेठ ७ गते विश्वासको मत लिँदा प्रचण्डको पक्षमा १५७ सांसदले मत दिएका थिए । तर, अहिले भने उनलाई विश्वासको मत दिएको सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले समर्थन फिर्ता लिएको छ । नेकपा एमालेले समर्थन फिर्ता लिएका कारण प्रधानमन्त्रीले विश्वासको मत लिनुपरेको हो ।

प्रधानमन्त्री भएयता प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । एमालेको संसद्मा ७९ मत छ । प्रचण्डले पाएको १५७ मतमा ७९ मत घटाउँदा ७८ मत बाँकी रहन्छ । त्यसबाहेक अन्य दलले औपचारिक रूपमा प्रचण्डको साथ त छोडेका छैनन् ।

तर, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सम्भवतः आजभोलिनै प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी गरेको छ । पार्टीका महासचिव मोहम्मद इस्तिह्याक राईले बिहिबार नै सार्वजनिक रूपमा प्रचण्डलाई दिएको समर्थन पार्टीले फिर्ता लिने र सरकारबाट बाहिरिने बताइसकेका छन् ।

जसपा त्यही पार्टी हो, जसलाई प्रचण्ड सरकार टिकाउनकै लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाएर बनाइएको थियो । राईले समर्थन फिर्ता लिए भने ७८ सिटमा पनि प्रचण्डको ७ घटेर ७१ मा आउँछ । त्यसबेला प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा, एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति पाटी र केही स्वतन्त्र सांसदले पनि मत दिएका थिए ।

विपक्षमा मतदान गरेका नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी विपक्षमै छन् । जनमत पार्टीले मधेसमा आफू नेतृत्वको सरकार टिकाउन साथ दिएमा केन्द्रमा कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने बताएको छ । कांग्रेस–एमाले गठबन्धनले अन्य ६ प्रदेश भागबण्डा गर्दा मधेस प्रदेस छोडेकाले जनमतको मधेसमा सत्ता टिक्ने र केन्द्रमा नयाँ बन्ने गठबन्धनलाई समर्थन गर्ने सम्भावना देखिन्छ । जनमतका ६ सांसद छन् ।

नागरिक उन्मुक्ति पार्टीले पनि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएर नयाँ संसदीय दलको नेता बनाएको छ । चौधरीले प्रचण्डलाई सघाएको आरोपमा हटाइएको हो । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै नयाँ गठबन्धनलाई सहयोग गर्ने बताइसकेका छन् । यसले नागरिक उन्मुक्तिका चार मत पनि घट्ने सम्भावना छ ।

जनमत र नागरिक उन्मुक्ति पनि विपक्षमा देखिए भने प्रचण्डसँग जम्मा ६१ मत मात्रै बाँकी रहन्छ । १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत माग्न लागेको यो पाँचौ पटक हो । २५ पुस २०७९ मा पहिलो पटक विश्वासको मत लिएका प्रचण्डलाई त्यतिबेला प्रतिनिधिसभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

तर २०७९ फागुनमै एमालेसँग सहकार्य तोडेर कांग्रेससँग गठबन्धन बनाएका प्रचण्डले ६ चैत २०७९ मा विश्वासको मत लिएका थिए । त्यतिबला उनले १७२ मत पाएका थिए । त्यसपछि प्रचण्डले ३० फागनु २०८० मा विश्वासको मत लिए । त्यो बेला उनले १५७ मत पाए । ७ जेठमा पछिल्लो पटक विश्वासको मत लिँदा पनि प्रचण्डले १५७ मत नै पाएका थिए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १७:०४

लोकप्रिय