सूचनाको शक्ति - The Power Of Information

        

अरु सँधै दोषी, रवि सदाबहार ‘निर्दोषी’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि उनकै पार्टीका महामन्त्री मुकुल ढकालले गम्भीर आरोप लगाएका छन् । लगत्तै ढकालमाथि पार्टीले निलम्बनको कारबाही गरेको छ ।

हिजोको पार्टी बैठकमा मुखमा कालोपट्टी बाँधेर अनुशासनहीन काम गरेको भन्दै रविको अध्यक्षतामा बसेको केन्द्रीय समितिको हिजोको बैठकले निलम्बन गरेको हो । तर, मुकुलमाथि पार्टीको अनुशासन आयोगले एक हप्ताका लागि निलम्बन गर्न यसअघि नै सिफारिस गरेको थियो ।

पार्टीको सांगठनिक अवस्थाबारे ढकालले गरेको देशब्यापी अध्ययन र अनुगमन प्रतिवेदनमा पार्टीलाई अप्ठेरो पार्ने विषय उल्लेख गरेको, प्रतिवेदन सञ्चारमाध्यमहरुमा पुर्याएको भन्दै केन्द्रीय समिति बैठक अगावै आयोगले कारबाहीको सिफारिस गरेको थियो । तर, महामन्त्रीले पार्टी सरकारमा गएपछि इमेज र क्रेज घटेको विषयमा सभापति लामिछाने सहमत नभएको आरोप लगाएका छन् ।

हिजो बैठकलाई प्रत्यक्ष प्रशारण गर्न नदिइएको, बैठकमा आफ्ना धारणा राख्न नदिइको जनाउँदै उनले बैठकबाट बाहिरिँदै भनेका थिए, ‘गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक र राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री भन्ने पद बराबरी र एउटै मानकको पद हो । जतिबेला उहाँ (रवि) प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जिबी राई मात्र दोषी देखिए ।’

‘तर आज उहाँ (रवि) सभापति र म (मुकुल) महामन्त्री हुँदा सम्पूर्ण कुराको दोषी महामन्त्री नै भन्ने भाष्य निर्माण गरिएको छ,’ उनले अलि अगाडिको सन्दर्भ कोट्याउँदै भनेका छन्, ‘जब उहाँ (रवि) पत्रकार हुनुहुन्थ्यो नेता दोषी भएका थिए । तर उहाँ नेता भएपछि पत्रकारलाई दोषी देख्न थाल्नुभयो । हिजो संसदमा प्रतिपक्षमा हुँदा सत्तापक्ष दोषी भन्न छुटाउनुभएन । आजसम्म सत्तापक्ष हुँदा प्रतिपक्ष दोषी भएको छ ।’

प्रकाशित मिति : २० असार २०८१, बिहीबार १४:२४

लोकप्रिय