सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् । नेकपा माओवादी केन्द्रको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्तासहकार्यको सहमतिपछि मंगलबार बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकबाट विश्वासको मत लिने निर्णय गरिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । विश्वासको मतको सामना गर्ने कुरा भएको छ,’ सचिव पौडेलले भने । उनले अब कांग्रेस वा एमालेको सरकार बन्ने अझै ‘क्लियर’ नभएको बताए ।

प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके कुन धारामा जाने भन्ने निर्णय राष्ट्रपतिबाट हुने उनले उल्लेख गरे । ‘बहुमतको सरकार बन्ला । राष्ट्रिय सहमतिको सरकार बन्दैन,’ उनले भने ।

एमालेले आजै आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको पत्र राष्ट्रपति कार्यालय पठाइसकेको छ । त्यससँगै प्रधानमन्त्री औपचारिक रूपमा अल्पमतमा परेका छन् । अल्पमतमा परिसकेपछि प्रचण्डसँग दुई विकल्प हुनेछन् ।

एक – राजीनामा दिने ।
अर्को – विश्वासको मत लिने ।

राजीनामा दिन कुनै साइत कुर्नुपर्दैन । यो कुनै संवैधानिक वा कानुनी बाध्यता पनि होइन । केवल स्वेच्छाले लिने निर्णय हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई सोमबारै आग्रह गरिसकेका छन् ।

विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ । यत्रो दिनमा आफ्ना पक्षमा वातावरण बनाउन सकिन्छ भन्ने लागेमा प्रधानमन्त्री प्रचण्डका प्रयास त्यसतर्फ पनि केन्द्रित हुन सक्छन् ।

तर कांग्रेस वा एमालेमध्ये एउटा शक्ति उनका पक्षमा नउभिएसम्म त्यो सम्भव छैन । त्यसो त माओवादी नेताहरूले अब संविधानको धारा ७६ उपधारा ३ अनुसार सरकार बन्नुपर्ने तर्क पनि गर्न सक्नेछन् । त्यो भनेको संसद्को सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने हो । त्यसो हुँदा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्छन् ।

देउवा प्रधानमन्त्री हुँदा ओलीलाई जिल्याउन पाउने माओवादीको दाउ पनि हुन सक्छ । उपधारा ३ अनुसार देउवा प्रधानमन्त्री भएमा आफूले समर्थन गर्ने सक्ने वचन पनि माओवादीले दिन सक्छ । तर ओली र देउवा भने उपधारा २ अर्थात् गठबन्धनको सरकारकै लागि प्रक्रिया राष्ट्रपतिले अगाडि बढाउने विश्वासमा छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ११:४३