सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस र एमालेको सरकार गठनका लागि के-के सहमति भयो ?

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सरकार चलाउने सहमति भएको छ । कांग्रेस र एमालेको संयुक्त सरकारको पहिलो प्रधानमन्त्रीको कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओली २ वर्ष सम्हाल्ने छन् भने बाँकी कार्यकालसहित अर्को चुनाबसम्म कांग्रेस सभापति शेरबहादुर देउवा देशको प्रधानमन्त्री हुने छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेका दोस्रो तहका नेताहरुले गएराति ललितपुरस्थित एक होटलमा गरेको सहमतिलाई दुबै दलका शीर्ष नेताहरुको हस्ताक्षरसहित अन्तिमरुप दिइएको छ । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् ।

छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३–३ वटा सरकार बाँडेका छन् । मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ । ती नेताका अनुसार एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

उनीहरुले संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका तयार गरेका छन्, जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रियसभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ ।

पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सम्भावना छ । संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने उनीहरुले तयारी गरेका छन् । प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विकल्पबारे उनीहरुबीच छलफल भएको छ । देउवा र ओलीले हस्ताक्षर गरेर सहमतिलाई पूर्णता दिने तयारी छ ।

यसअघि कांग्रेस र एमाले नेताहरु राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अनुसार नै सरकार आह्वानको परिस्थिति निर्माणका लागि उनीहरू शीतल निवास पुगेको बताइएको छ ।

१. ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।

२. प्रदेश सरकारहरुमा एमालेले कोशी, लुम्बिनी र कर्णाली तथा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने । त्यस्तै मधेस प्रदेशमा चाहिँ मधेस केन्द्रित दललाई नै नेतृत्व दिने ।

३. संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रियसभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।

४. प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको सिट संख्याबारे पुनर्विचार गर्ने ।

५. पालिकाको सङ्ख्या ७५३ बाट घटाएर वडाको सङ्ख्या वृद्धि गर्ने ।

६. संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।

७. प्रदेशसभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ०६:४१

लोकप्रिय