उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन् ।
कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो । व्यावसायिक सागसब्जी उत्पादन गर्न थालेपछि यहाँका किसानको जीवनस्तरमा परिवर्तन आएको छ ।
यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रो लगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दिए । माथिल्लो शालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो शालिजाको भोटेडाँडा, दीप, स्वारा, गाम लगायत स्थानमा आलु र ताजा सागसब्जी उत्पादन गरिँदै आएको छ ।
शालिजाका अधिकांश किसानले अन्नबाली छाडेर ताजा सागसब्जी उत्पादन गर्दै आएका छन् । उनीहरूको खेतबारी कहिल्यै बाँझो रहँदैन । हरेक मौसममा विभिन्न सागसब्जीले हरियाली छाएको देखिन्छ । मगर समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि व्यावसायिक सागसब्जी खेतीमा लाग्ने किसानको आकर्षण बढेको सुवेदीले बताए ।
उच्च भाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले यहाँ आलु र मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन हुँदै आएको छ । शालिजाका ८०० परिवार व्यावसायिक सागसब्जी खेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । सागसब्जीखेती गरेर यहाँका किसानले वार्षिक रूपमा न्यूनतम रु दुई लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।
पछिल्लो समय जलजला गाउँपालिकाले आलुको बीउको स्रोत केन्द्रका रूपमा यो ठाउँलाई विकास गरेपछि स्थानीय किसानको आलु लगायतका सागसब्जी उत्पादनमा झनै आकर्षण बढेको हो । आलु बिक्री गरेर मात्र गाउँमा करिब रु एक करोड भित्रिने गरेको स्थानीय किसान तथा शालिजाका पूर्ववडाध्यक्ष होमबहादुर पुनले जानकारी दिए ।
पुस, माघमा लगाएको आलुखेतीले यतिखेर गाउँ नै भरिएको छ । अहिले आलु खनेर बजार पुर्याउन स्थानीयलाई भ्याइनभ्याई भएको उनले बताए । यहाँका अधिकांश किसानले व्यावसायिक सागसब्जी खेती गरेर राम्रो आम्दानी लिएको जलजला गाउँपालिका–६ शालिजाका पूर्व वडाध्यक्ष पुनले बताए । राम्रो सिँचाइ र उत्पादित कृषि उपजको बजारीकरणमा सरकारी निकायले सहयोग गरे अझै ताजा सागसब्जी उत्पादन वृद्धि हुने पुनले बताए ।
शालिजा गाउँमा एउटै किसानले २५ मुरीदेखि ५० मुरीसम्म आलु फलाउने गरेको अर्का किसान वीरबहादुर पुनले जानकारी दिए । उनका अनुसार शालिजामा आलुमात्रै बिक्री गरेर रु दुई लाखदेखि छ लाखसम्म कमाउने गर्दछन् । विगत १४ वर्षदेखि निरन्तर आलुखेती गर्दै आएका पुनले उत्पादन भएको आलु बिक्रीका लागि कुनै समस्या नभएको र पोखरा, काठमाडौँ, कुश्मा, बागलुङबाट माग आउने बताए । घरबाटै बीउ आलुलाई रु २०० देखि २५० पाथीमा बिक्री गर्न सकिने उनले बताए ।
‘शालिजामा उत्पादन भएको आलुको मुख्य बजार पोखरा हो, त्यसपछि बागलुङ, कुश्मा र बेनी जान्छ,’ उनले भने । मिलनचोक–शालिजा सडक स्तोरन्नति भए आलु ढुवानीमा सहज हुने उनले बताए । जलजला गाउँपालिकाले आलुको बीउमा आत्मनिर्भर बनाउन बीउ उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनले गाउँपालिकाले व्यावसायिक रूपमा सागसब्जी लगाउने किसानलाई प्रोत्साहनस्वरुप तालिम, उपकरण र बीउमा अनुदान दिँदै आएको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । पर्वत