सूचनाको शक्ति - The Power Of Information

        

गरिब मुलुकका लागि ठूलो आर्थिक प्याकेज जरुरी

विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए–२१)को तेस्रो परिपूरण बैठकले आगामी सन् २०२५ देखि ०२८ सम्म तीन वर्षका लागि गरिब र विकासमा पछि परेका मुलुकका लागि सहयोग रणनीति तथा सहयोगका क्षेत्र निर्धारण गरेको छ । काठमाडौैंमा चार दिनसम्म चलेको बैठकले ती (आइडीए) मुलुकका लागि तीनवर्षे रणनीतिको खाका तयार पारेको हो ।

बैठकमा आइडीए देशहरूको वित्तीय परिदृश्य (फाइनान्सियल सिनारिओ) सम्बन्धमा गहन छलफल गरिएको थियो । साथै, बैठकमा आगामी तीन वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र र त्यसको रणनीतिक ढाँचा, आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृपक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्चपदस्थ पदाधिकारीमा छलफल भएको थियो ।

विश्व अर्थतन्त्रमा उत्पन्न चुनौती र आईडीए मुलुकहरूको विकासको आकांक्षा सम्बोधन गर्न एतिहासिक रूपले ठूलो आर्थिक प्याकेज जरुरी रहेको बैठकले निष्कर्ष निकालेको छ । बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयद्वारा गठित सचिव आयोजक समितिअन्तर्गतको व्यवस्थापन तथा समन्वय समिति संयोजक एवं मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले गरिब र कम विकसित मुलुकका लागि बैठकका उपलब्धी एतिहासिक हुने बताए ।

उनले भने, ‘आइडीएले इन्पुटमा आधारित रणनीतिमा टेकेर काम गरेको थियो । अब नतिजालाई आउटपुटमा आधारित बनाएर जाने सैद्धान्तिक सहमति भएको छ ।’ बैठकले आइडीए मुलुकका जनताका लागि विद्युत् र सूचना प्रविधिमा पहुँच तथा अवसरको वातावरण बनाउने प्रारम्भिक रणनीति तय गरेको छ । यसअघि अवसर सिर्जना गर्ने सूचीमा रहेको शिक्षा र स्वास्थ्यमा भने अब गुणस्तर वृद्धिमा जोड दिने रणनीति आइडीएले अघि सारेको छ ।

यस्तै, महिलालाई मूलप्रवाहीकरणमा समावेश गर्न शैक्षिक र आर्थिक स्तरमा विकास तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनुपर्ने आइडीएको निष्कर्ष रहेको छ । विश्व बैंकको आगामी अक्टोबरमा हुने बैठकमा आईडीएका निष्कर्षबारे थप छलफल हुनेछ । आगामी मंसिर २५ र २६ गते मा दक्षिण कोरियामा हुने आइडीए २१ को अन्तिम बैठकले तीनवर्षे रणनीति कार्यान्वयन गर्ने औपचारिक निर्णय गर्नेछ । राजधानीस्थित होटल सोल्टी प्लाजामा बसेको बैठक मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । बैठक शुक्रबार अर्थमन्त्री वर्षमान पुन अनन्तले समापन गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार १३:४१

लोकप्रिय