सत्तारुढ प्रमुख तीन दलले राजदूतको भागबण्डा टुंगो लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले राजदूतको भागबण्डा टुंगो लगाएको हो ।
सत्तारुढ प्रमुख तीन दलको बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकले हाल खाली रहेको ११ देशको राजदूतमा भागबण्डा टुंग्याएको हो । बिहीबार साँझ ६ बजेदेखि ८ बजेसम्म तीन नेताबीचको छलफलमा एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने शीर्ष नेता निकट स्रोतले बताएको छ । राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरु फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र दिइएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार शुक्रबार मन्त्रिपरिषद् बैठक अगावै केही राजदूत नियुक्त हुन सक्नेछन् । ‘कुन देशमा को राजदूत बन्ने भन्ने नाममा प्रवेश गरिएको छैन, तर संख्या आजबाट टुंगियो,’ सचिवालयले बतायो ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाँदैछन्, त्यसअघि राजदूतको नाममा मोटामोटी सहमति निकाल्न खोजिएको स्रोतले बतायो । रास्वपाले महत्वपूर्ण मानिएका देश भारत, अमेरिकाका राजदूतमध्ये एक आफूलाई दिन माग गरे पनि प्रचण्ड र ओली तयार भएनन् ।
सत्तारुढ प्रमुख तीन दलको बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका मनोमालिन्य छलफल गरेर टुंग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जानेबारे छलफल भएको बालुवाटार स्रोतले बतायो ।
‘बीचमा केही तिक्त अभिव्यक्तिहरु बाहिर आए, असहयोग पो हुन थाल्यो कि भन्ने पनि भयो’, बालुवाटार स्रोतले भन्यो, ‘तर हाम्रोमा असामान्य विषय केही छैन, समझदारीमै छौं भन्ने सन्देश बैठकबाट गएको छ ।’
गत २४ जेठमा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं