नरैनापुर गाउँपालिका ६ वटा वडामध्ये एक हो, वडा नम्बर ६ । यस वडाको केन्द्र गंगापुरमा रहेको छ । जुन साविक गंगापुर गाउँ विकास समिति रहेको थियो । यो वडामा स्थानीय विकासको आधारशिला वडा भएको छ । वडामा पूर्वाधार, स्वास्थ्य, कृषि, शिक्षा लगायतका क्षेत्रमा पनि पहिलेभन्दा विकास भएको छ ।
वडाध्यक्ष प्रेमचन्द्र मौर्यका अनुसार आफूहरु आएपछि धेरै विकास भएको छ । यसै सन्दर्भमा निर्वाचनका प्रतिबद्धता कति पुरा भए, सोही अनुसार विकास भयो की भएन, यो अवधिमा कस्ता विकास भए र आगामी योजनाका विषयमा नरैनापुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष प्रेमचन्द्र मौर्यसँग गरिएको कुराकानीको सम्पादित अंश :
वडाध्यक्षका रुपमा जननिर्वाचित भएपछि हालसम्मको अनुभव कस्तो रह्यो ?
जननिर्वाचित भएर वडाध्यक्षका रुपमा आइसकेपछिको व्यस्तता निकै बढेको महसुस हुन्छ । साँझ बिहान २४ सैं घण्टा मोबाइलमा घण्टी बजिहाल्छ । वडाध्यक्ष भएपछि फोनबाट जानकारी लिएर वडाको समग्र विकासका साथै नागरिकको दैनिकीसँग जोडिएर धेरै खटिनुपरेको छ । कहिलेकाँही त अध्यक्ष नभएको भए राम्रो हुन्थ्या ेजस्तो लाग्छ । निर्वाचित भएपछि वडाको विकासको गह्रुँगो भारी बोकिरहेको महसुस हुन्छ ।
वडाध्यक्ष हुनुअघि जतिबेला जहाँ गए नि हुन्थ्यो । अहिले भने नागरिकको कामका लागि जतिबेला जहाँ पनि खटिनुपर्ने अवस्था छ । धेरै समयमा नागरिकको घरदैलो र गाउँबस्तीतिरै हुन्छु । यस्तो अवस्थामा कार्यालयमा पुग्ने सेवाग्राहीको काम नरोकियोस् भनेर वडा कार्यालय बाहिर रहेका अवस्थामा सेवाग्राहीलाई अनुकुल हुने गरी आफू भएको ठाउँ बोलाउने या आफैं सेवाग्राही भएको ठाउँमा पुग्ने गर्छु ।
पहिलेको व्यस्तता र अहिलेको व्यस्ततामा के फरक छ ?
पहिलेको व्यस्तता भनेको जतिबेला पनि फुर्सद मिल्यो । अहिले त्यस्तो छैन । अहिले कुनै पनि काममा पूर्ण जिम्मेवारी निभाउनुपर्छ । कार्यालयमा सेवाग्राहीहरु समयमै पुग्छन् भन्ने कुराले आफुलाई पनि समयमै कार्यालयमा पुग्नुपर्छ । नागरिकका गुनासा धेरै आउँछन् । ती गुनासाहरुको सम्बोधन गर्नुपर्छ । पहिले कुनै एउटा पार्टीमा मात्रै आवद्ध थिए । कहिलेकाँही पार्टीका काममा सहभागी भइन्थ्यो ।
स्थानीय तहको निर्वाचनमा मतदाताहरुले जनप्रतिनिधिका रुपमा चुनेर पठाएपछि अहिले एउटा पार्टीको मात्रै नभएर म साझा व्यक्ति भएकै कारण सोही अनुसारको पदीय मर्यादा र हैसियतले बस्नुपर्छ । जनप्रतिनिधि भएपछि आएको जिम्मेवारी सकेसम्म तत्कालै पुरा गर्ने गर्छु । मसँग पहिलेजस्तो फुर्सदको समय छँदैछैन । जनप्रतिनिधि भएपछि अहिले जिम्मेवारी बढेको छ । आएका जिम्मेवारीलाई पुरा गर्दै अघि बढेको छु ।
वडामा के–कस्ता विवाद र समस्या आउँछन् ?
थुप्रै प्रकारको समस्या आउँछन् । ती समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हो । किनकी समस्या समाधानका लागि बिशेष ध्यान दिन आवश्यक छ । झैझडा, जग्गा जमिन विवाद, सरकारी कार्यालयमा परेको मुद्दा, अन्य सामाजिक समस्याहरु आइरहन्छन् । कतिपय मुद्दा आफैंले मिलाएर पठाउने गरेका छौं । नमिल्ने मुद्दाहरु स्थानीय तहमा रहेको न्यायीक समितिमा पठाउने गरेका छौं ।
कतिपय व्यवहारिक विषयसँग जोडिएका सामान्य विवाद वा समस्याहरुमा दुवै पक्षलाई राखेर वडा कार्यालयमै मिलाउँछौं । सामान्य विवादमा दुवै पक्षका गुनासाहरु सुनेर समस्याको गहिराईमा पुगेर दुवै पक्षलाई जितेको महसुस हुने गरी समस्या समाधान गर्ने गरिएको छ । हाम्रो वडामा भने हालसम्म त्यस्ता कठिन खालका समस्या अझैसम्म आएका छैनन् । वडामा सामान्यतया घरायसी विवाद, सामान्य झै–झगडाका मुद्दाहरु आउँछन् । सबैखाले समस्या र विवादलाई जनप्रतिनिधि र पीडित तथा पीडकको पक्षबीच नै समाधान गर्ने गरिएको छ ।
साथै वडामा उपभोक्ता समितिमार्फत काम गराउँदा एक पटकमा कुरा नबुझिदिने, सबै कागजपत्रहरु कर्मचारीले नै मिलाइ दिनुपर्ने लगायतका समस्याहरु छन् र हामीले त्यसलाई सहजीकरण गर्दै नागरिकका कामहरु सर्वसूलभरुपमै गरिरहेका छौं । सामान्यतया वडाभित्रका सेवाग्राहीहरु कागजात बिना नै कार्यालय आउने समस्या पनि छ । अपूरा कागजपत्र साथै आवश्यक कागजपत्रहरु हेरेर त्यसलाई सच्याउन सुझाव दिने साथै सक्दो सहयोग गर्ने गरेका छौं ।
जनताको साथ सहयोग कत्तिको पाउनुभएको छ ?
हाम्रो वडामा जनप्रतिनिधिलाई धेरै नै सहयोग मिलेको छ । यहाँका नागरिकले प्रत्यक्षरुपमा मलाई सहयोग गरेको आभास गरेको छु । कहिलेकाँही कतिपयले सेवाग्राहीले असजिलो समेत बनाउँछन् । निर्माण गरिएको योजना वा कार्यक्रम मन नपरेपछि विवाद गर्ने, मन पर्यो भने सहयोग र साथ पनि दिन्छन् । वडाध्यक्षले समाजमा विभिन्न विचार भएका व्यक्तिहरुको चाहना पुरा गर्न असम्भव पनि भएकाले सहयोग पनि हुन्छ असहयोग पनि हुन्छ । तर अहिलेसम्म असहयोग भएको भन्ने छैन । बरु असहयोगभन्दा सहयोग नै धेरै छ ।
जनप्रतिनिधिका विषयमा नागरिकले गुनासो ल्याउने गरेका छन् कि छैनन् ?
समाजमा थुप्रै व्यवहार भएका व्यक्तिहरु हुन्छन् । सबै एउटै हुन्छन् भन्ने पनि छैन । कसको मस्तिष्कमा के सोंच आएको छ, थाहा हुँदैन । काम लिएर भेट्न आउने सबैको चित्त बुझ्छ भन्ने पनि छैन । यसरी कतिपयको चित्त बुझाउन पनि सकिँदैन । यो अवस्थामा चित्त नबुझ्दा गुनासो आउने गरेको छ । कतिपय अवस्थामा प्रक्रियागत कागजात नमिल्दा कार्यालयमा आउने सेवाग्राहीहरुको काम रोकिन पुग्छ ।
त्यस्तो अवस्थामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आफूहरको काम रोकेको भन्दै सेवाग्राहीले आरोप लगाउने गरेको पनि सुन्नुरेको छ । तर धेरैजसो कार्यमा जनताले नजानेको खण्डमा जनप्रतिनिधि र कर्मचारीले आवश्यक कार्यहरुमा सहयोग गर्ने गरेका छौं । सकेसम्म गुनासो नै नआउने गरी कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाएका छौं ।
निर्वाचनपछि वडामा भएका राम्रा प्रयास र समस्याहरु के–के छन् ?
यस वडालाई नमूना वडा बनाउन आवश्यक पर्ने सबै पूर्वाधारहरु तयार भएका छन् । यहाँको स्वास्थ्य अवस्था अन्य वडाको भन्दा धेरै राम्रो छ । वडामा बस्ती विस्तार, जनसंख्या वृद्धिदर बढ्दै जाँदा सबैखाले आवश्यकताहरु पनि थपिँदै जान्छन् । यसले ती आवश्यकताहरु तत्कालै पुरा गर्न केही कठीन हुँदा स–साना समस्याहरु आउन सक्छन् । तर हामीले स्थानीय सरकारका रुपमा निर्वाचित भएर आएपछि सकभर नागरिकहरुले कुनै प्रकारका समस्या झेल्न नपरोस् भन्नेमा सचेत छौं ।
त्यति हुँदाहुँदै पनि कहिलेकाहीँ आफ्नो काबुभन्दा बाहिरबाट आउने समस्यालाई जतिसक्दो छिटो कसरी समाधान गर्ने भन्नेमा हामी तल्लिन हुन्छौं । हाम्रो वडामा स्थानीय सरकारको काबुभन्दा बाहिरको ठूलो समस्या राप्ती नदीको कटान र डुबान हो । त्यस्तै चुरेबाट आउने खहरे खोलाको पानीले बस्ती डुबान वडाकै ठुलो समस्या हो । बजेट अभावले वडाभित्रका धेरै सडकहरु अझै स्तरीकृत गर्न बाँकी छ । गर्दागर्दै पनि बजेट अभावका कारण विकास निर्माणका कामहरु अधुरै छन् ।
अन्त्यमा थप प्रसंग र विषयहरु केही छन् ?
नेपालमा संघीय संरचना लागु भएपछि अब प्रत्येक पाँच वर्षमा स्थानीय निर्वाचन हुने र त्यसले स्थानीय सरकार परिवर्तन गर्ने व्यवस्था छ । सोही प्रणाली अन्तरगत हामी निर्वाचित भएर आएपछि विकास निर्माणका सबै कामहरुको व्यवस्थापनमा खटिएका छौं । आफ्नो गाउँठाउँको विकासका लागि पार्टीभन्दा माथि उठेर इमान्दार, कर्मठ, विकासप्रेमी, शालिन र भद्र भएर अघि बढेका छौं ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
प्रेमचन्द्र मौर्य । अध्यक्ष । नरैनापुर गाउँपालिका, वडा नं. ६, बाँके