सूचनाको शक्ति - The Power Of Information

        

बजेटले माओवादीमै खैलाबैला, अर्थमन्त्री दबाबमा

आगामी वर्षका लागि सरकारले ल्याएको बजेटमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्रै विवाद देखिन थालेको छ । बजेट प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धताअनुसार आउन नसकेको भन्दै माओवादीकै शीर्ष नेताहरुले आलोचना गर्न थालेपछि अर्थमन्त्री वर्षमान पुन दबाबमा परेका छन् । माओवादी सांसदहरुले सार्वजनिक रुपमै बजेटले सहि बाटो समात्न नसकेकोदेखि परम्परा पछ्याएको आरोप लगाइरहेका छन् ।

माओवादी केन्द्रका सांसद समेत रहेका नेता माधव सापकोटाले बजेट परम्परा धान्ने गरि आएको भन्दै यसको गम्भीर आलोचना गरे । सापकोटाले बजेटले मुलुकको विकास समृद्धि र समाजवादतर्फको बाटो समात्न नसकिने भन्दै आलोचना गरेको २४ घण्टा नबित्दै प्रभावशाली नेता जनार्दन शर्माले समेत बजेटमा सार्वजनिक आक्रोश पोखेका छन् ।

बजेट निर्माण गर्दा परम्परालाई मात्रै निरन्तरता दिएको भन्दै यो बजेटले नयाँ प्रगति गर्न नसक्ने शर्माको दाबी छ । उनले सरकारले परम्परागत बजेट निर्माण प्रक्रिया बदल्ने भनेपछ बदल्नुपर्ने भए पनि बदल्न नसकेको उल्लेख गरे । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षमा आगामी वर्षको बजेट नयाँ ढङ्गले बजेट प्रस्तुत गर्ने प्रतिवद्धता र घोषणा भएको थियो ।

उनले भने, ‘प्रिबजेटमा नै बजेटलाई प्राथमिकता दिएर छलफल गर्ने र छलफलबाट आएका सुझावका आधारमा बजेट निर्माण गर्ने कुराले उत्साहका साथ लिएका थियौं । बजेटमा प्रधानमन्त्रीको घोषणा अनुसार अघि बढ्न सकेन ।’ उनले सरकारले निर्माण गर्ने बजेट पुरानै अवस्थामा रहेको भन्दै सुधार गर्न आवश्यक रहेको बताए ।

उनले बजेट प्रस्तुतपछि संसदमा बजेटका विषयमा भएका छलफलको औचित्य र आवश्यकता नभएको बताए । माओवादी केन्द्रभित्र बजेटलाई लिएर विरोध भइरहँदा अर्थमन्त्री पुन भने विभिन्न सार्वजनिक कार्यक्रममा बजेटको बचाउ गर्दै आएका छन् । बजेट सन्तुलित र वस्तुवादी रहेको उनको तर्क हुने गर्छ । बजेटमा सरकारले केहि नयाँ व्यवस्था गरेपनि साना र टुक्रे योजनालाई समेत न्यून बजेटीकरण गरिएको छ ।

संघीयतामा गइसकेको मुलुकले साना र टुक्रे योजनामा ध्यान केन्द्रित गर्न खोज्दा प्रदेश र स्थानीय तहको मर्ममाथि प्रहार भइरहेको आरोप लाग्नु स्वभाविक भए पनि बजेटमाथिका प्रश्न सरकारको नेतृत्व गरेको दलबाटै हुनुलाई अर्थपूर्ण ढंगले लिइएको छ । बजेट ल्याउने अर्थमन्त्री वर्षमान पुन र जनार्दन शर्मा पार्टीभित्रका आन्तरिक प्रतिष्पर्धी समेत हुन् ।

तर, प्रचण्डले दुई नेताहरुलाई समान हैसियतमा राखेर शक्ति सन्तुलन कायम गर्न खोज्ने गर्दा पछिल्लो समय नेकपाका महासचिव समेत रहेका नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा भित्र्याउने कोसिसमा प्रचण्ड देखिन्छन् । यस्तोमा वर्षमान र जनार्दनमा केहि मत मिले पनि फेरि उनीहरु तीब्र प्रतिष्पर्धामा उत्रिन पुग्ने त होइनन भन्ने प्रश्न छ । तर, बजेटको आकार र प्रकारले हलचल ल्याउन थालेपछि अर्थमन्त्री पुन दबाबमा भने परेका छन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतवार ०७:०७

लोकप्रिय